कविता
भगवान् बनाइन्छ
राज अनुराग
नयाँ मान्छेलाई यहाँ भगवान् बनाइन्छ,
सत्यभन्दा माथि राखी पहिचान सजाइन्छ
पीडा बोल्ने आँसुहरू बगिरन्छन्
तालीको गड्गडाहटले आवाजहरू ढाकिन्छन्
यहाँ यथार्थलाई हाकाहाकी छोपिन्छ
आजको झुटलाई नै मुकुट पहिराइन्छ
प्रश्न गर्ने ओठहरू सुक्छन्
ताली बजाउने हातहरू लुक्छन्
यहाँ आस्था पनि बजारमा बिक्छ
भावनालाई पनि नाफामा साटिन्छ
यहाँ भगवान् बन्न समय लाग्दैन
तर मान्छे भइरहन साहस चाहिन्छ
नयाँ मान्छेलाई यहाँ भगवान् बनाइन्छ
सत्यभन्दा माथि राखी पहिचान सजाइन्छ ।
