समालाेचना
युवराज घिमिरेका कवितामा
समकालीन जीवनको यथार्थ र संवेदना
१. प्राक्कथन : कवि परिचय
युवराज घिमिरे केही समयअगाडि आइतबारको अफिस
कविता–सङ्ग्रह लिएर नेपाली साहित्यका फाँटमा उदाएका छन् । उनी मूलतः बैंकिङ
क्षेत्रमा कार्यरत व्यक्तित्व हुन् । रुपन्देहीको देवदह–३ मा जन्मिएका घिमिरे हाल
सूर्यविनायक–५, भक्तपुरमा बसोबास गर्छन् । उनले अर्थशास्त्र विषयमा उच्च
शिक्षा हासिल गरेका छन् र लामो समयदेखि बैंकिङ तथा शिक्षण क्षेत्रमा सक्रिय छन् ।
२०५७ सालमा राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरी हाल वरिष्ठ प्रबन्धकका रूपमा
कार्यरत घिमिरेसँग विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेको अनुभव समेत छ । बैंकिङ
क्षेत्रको व्यावहारिक जीवन, आर्थिक–सामाजिक गतिविधिको निकटबाट अवलोकन र
अध्यापनसँग जोडिएको बौद्धिक अभ्यासले घिमिरेको साहित्यिक व्यक्तित्वलाई विशिष्ट
आधार दिएको छ । यसकारण उनको लेखनमा जीवनलाई टाढाबाट होइन, आफ्नै भोगाइ, अनुभव र सामाजिक
परिवेशसँग जोडेर हेर्ने प्रवृत्ति पाइन्छ । बैंकिङ क्षेत्रका अनुभव र अनुभूतिसँग
सम्बन्धित लेखन तथा विभिन्न आर्थिक र समसामयिक विषयमा प्रकाशित उनका रचनाले उनको
बहुआयामिक लेखकीय सक्रियतालाई देखाउँछन् । हाल प्रकाशित उनको कविता–सङ्ग्रह
आइतबारको अफिस (२०८३) ले अब उनलाई कविका रूपमा पनि चिनाएको छ । घिमिरेको कविता
लेखनको एउटा पक्ष कर्मचारी जीवन, कार्यालय, श्रम, दैनन्दिन तथा
प्रेमप्रणय आदि निजी जीवनको अनुभव हो भने अर्को पक्ष सामाजिक–राजनीतिक चेतना हो ।
सत्तादुरुपयोग, भ्रष्टाचार, अवसरवाद, लोकतन्त्रका
विकृति र सामाजिक असमानताप्रति उनको आलोचनात्मक दृष्टि रहेको छ । प्रेम, प्रतीक्षा, सम्झना र बिछोडको
अनुभूति पनि उनका कवितामा छ । कवितामा उनी समकालीन यथार्थलाई केवल चित्रण गरेर
मात्र रोकिदैनन्, त्यसप्रति प्रश्न र प्रतिरोधको स्वरसमेत
उठाउँछन् । राष्ट्रप्रेम, नागरिक उत्तरदायित्व र परिवर्तनको आकाङ्क्षा
उनका कविताका अन्तर्धाराका रूपमा उपस्थित छन् । समग्रमा उनका कविता निजी अनुभूति र
सार्वजनिक सरोकारबिचको सेतु बनेका छन् ।
२. घिमिरेका कवितामा
विषयगत र भावगत विविधता
घिमिरेको आइतबारको अफिस कविता–सङ्ग्रहमा गीति, गजल र मुक्तलयका
गरी जम्मा ८२ ओटा रचना समेटिएका छन् र यी रचना समयावधिका हिसाबले २०७३ सालदेखि
२०८२ सम्म लेखिएका देखिन्छन् । कविताका शीर्षकहरूको सूची हेर्दा नै सङ्ग्रहको
विषयगत विस्तार स्पष्ट हुन्छ । यसमा ‘गाउँले’, ‘किन जानु विदेश ?’, ‘व्यर्थै गाउँ
छोडियो’, ‘जीवनको अँध्यारो पाटो’, ‘कर्णालीको आँसु’, ‘माया कि ओखती’, ‘गौँथलीको गुँड’, ‘आहा मेरो देश’, ‘जीवन दर्शन’, ‘हराम मान्छे’, ‘तिमी कति राम्री
छौ’, ‘कर्मयोगी’, ‘माटो’, ‘समयको चक्र’, ‘तिमी नहुँदा’, ‘गलगाँड गणतन्त्र’
‘राजनीतिको बजार’, ‘शासन’, ‘सङ्घर्षको पीडा’, ‘सहरभित्रको जहर’, ‘राप्तीपारि वन
डढेछ’, ‘आइतबारको अफिस’, ‘जनता जागौँ’, ‘झेली खेल’, ‘मेरो देशमा’, ‘कोरोनाकालको
साम्यवाद’, ‘सृष्टिको नियम’, ‘म आखिर मनै हुँ’, ‘शब्द भेटिएन’, ‘मबाट हामी बन्नु
छ’, ‘अधुरो प्रेम’, ‘प्रतीक्षाको छटपटी’, ‘विलीन माया’, ‘साउने झरी’ जस्ता
शीर्षकका कविताहरू समेटिएका छन् । यसबाट कविको सिर्जनात्मक रुचि एउटै विषयमा मात्र
सीमित नभई व्यक्ति र समाज, गाउँ र सहर, प्रेम र राजनीति तथा निजी
अनुभूति र सार्वजनिक सरोकार, प्रकृति र संस्कृति, विडम्बना र आशाका
बिच फैलिएको देखिन्छ । उनको आइतबारको अफिस कविता–सङ्ग्रहमा तीनओटा खण्ड छन् । यी
तीन खण्डमध्ये पहिलो खण्डमा लोकभाका र साङ्गीतिक ढाँचाका ३० ओटा गीति कविता
सङ्कलित छन् भने दोस्रो खण्डमा सामाजिक विकृति, राजनीति, मायाप्रेम र
आत्मानुभूतिका ३६ ओटा गजल समेटिएका छन् अनि तेस्रो खण्डमा चाहिँ सामाजिक–राजनीति, दार्शनिक एवम्
मानवीय संवेदनाका मुक्तलयका २१ ओटा आधुनिक गद्यशैलीका कविता समाविष्ट छन् । कुल
१४६ पृष्ठमा विस्तारित यस सङ्ग्रहका कविताले पाठकलाई कविताका विविध रूप, लय र भावभूमिमा
यात्रा गराउँछन् ।
कविताको शीर्षक यसै सङ्ग्रहमा समाविष्ट
‘आइतबारको अफिस’ कविताबाट राखिएको छ जो आफैँमा साङ्केतिक छ । यसले आइतबार आएपछिको
कर्मचारीको दैनन्दिनको व्यस्तता, विडम्बना, यान्त्रिकता र तनावग्रस्त
अवस्थाको त सङ्केत गर्छ नै सँगसँगै यसले व्यञ्जनाका स्तरमा समग्र मानवीय जीवनको
यान्त्रिक अवस्था र विडम्बनालाई समेत अभिव्यञ्जित गर्दछ । त्यसैले कविताको शीर्षक
उपयुक्त र अर्थगर्भित नै छ ।
कवि घिमिरेले आफ्ना कवितालाई कुनै एउटा घेरा, परिधि वा विशिष्ट
विधागत जटिलताभित्र मात्र सीमित नराखी लयगत तीनओटै प्रमुख नेपाली काव्यिक आयाम र
विषयगत विविधतालाई एउटै सङ्ग्रहभित्र संयोजन गरेका छन् । यस सङ्ग्रहले गाउँको
माटोको सुगन्धदेखि सहरको कोलाहलसम्म, विदेश पलायनको कारुणिक
गाथादेखि सत्ता र व्यवस्थाप्रतिको तीक्ष्ण व्यङ्ग्यसम्मका बहुआयामिक पाटालाई
समेटेको छ । यस सङ्ग्रहका कवितामा विषयगत र भावगत विशेषताका हिसाबले निम्न लिखित पक्षहरू
पाइन्छन् ।
(क) जीवनबोध, आशावाद र
कर्मप्रतिको आस्था
युवराज घिमिरेका आइतबारको अफिस सङ्ग्रहमा
सङ्कलित कविताको मूल स्वर जीवनप्रतिको आस्था हो । यसमा उनले जीवनलाई केवल
सुखदुःखको समष्टिका रूपमा मात्र होइन, निरन्तर सङ्घर्ष र
सम्भावनाको यात्राका रूपमा लिएका छन् । यस क्रममा ‘जिन्दगी’ शीर्षकका गजलमा उनी
यसो भन्छन् ः
एक मुठी सास छ र त
जिन्दगी
केही मिठो खास छ र त
जिन्दगी ।
यी
गजलका सेरले जीवनको मूल्य बाह्य वैभवमा होइन, बाँच्न पाउनुको अनुभूतिमा
रहेको सन्देश दिएका छन् । जीवनको अर्थ सम्पत्ति, पद वा सफलतामा सीमित छैन, जीवन आफैँमा एउटा
अद्वितीय उपहार हो भन्ने भाव यहाँ व्यक्त भएको छ । त्यस्तै ‘शुभकामना’ गजलमा कवि
कर्मशील जीवनका पक्षमा यसरी उभिएका छन्
कर्म गर्छौ, धर्म गर्छौ, गर्छौ नित्य
परिश्रम,
जिन्दगीको बगैँचामा मखमली
फुलिरहोस् ।
यहाँ ‘मखमली’ फूल सफल र सुन्दर जीवनको
प्रतीक हो । कविका अनुसार परिश्रम र नैतिक कर्म नै जीवनलाई सुगन्धित बनाउने आधार
हुन् । त्यस्तै ‘सङ्कल्प’ शीर्षकका गजलमा पनि यस्तै विचार व्यक्त भएको छ ः
बाहिरी समस्या देख्छौँ
हामी,
सुधार आफैँबाट थाल्नुपर्छ
।
कवि सामाजिक परिवर्तनको जिम्मेवारी अरूमाथि
थोपर्न चाहँदैनन् । उनी त आत्मसुधारलाई सामाजिक सुधारको आधार मान्छन् । यस
सङ्ग्रहका कवितामा श्रम र कर्मप्रतिको सम्मान विशेष रूपमा व्यक्त भएको छ ।
‘कर्मयोगी’, ‘गौँथलीको गुँड’, ‘राम्रो मन’ जस्ता
कविताहरू यसका उदाहरण हुन् । ‘कर्मयोगी’मा कर्मलाई नै जीवनको सर्वोच्च धर्म
मानिएको छ र सभ्यता निर्माण गर्ने शक्ति श्रम नै हो भन्ने सन्देश दिइएको छ ।
‘गौँथलीको गुँड’मा एउटा सानो चराको अथक परिश्रमबाट मानव जीवनका लागि प्रेरणा
खोजिएको छ ।
यी कविताहरूले श्रम, इमानदारी, परिश्रम र
नैतिकताको मूल्यलाई स्थापित गर्ने प्रयत्न गरेका छन् । यसरी कवि युवराजका कवितामा
जीवनबोध आशा र कर्मशील चेतनासँग जोडिएर आएको छ ।
(ख) सामाजिक यथार्थ र
वर्गीयताको चित्रण
कवि घिमिरेका कविताको एउटा अर्को उल्लेखनीय
विशेषता भनेको सामाजिक यथार्थ र वर्गीयताको चित्रण हो । उनी सामान्य मानिसको
जीवनलाई काव्यको केन्द्रमा ल्याउँछन् र वर्गीय रूपमा हेर्छन् । उनका पात्रहरू किसान, कर्मचारी, श्रमिक, निम्नमध्यम
वर्गीय नागरिक र सङ्घर्षरत मानिसहरू हुन्छन् । उनको कविताको शीर्षक राखिएको ‘आइतबारको अफिस’ कविता यस दृष्टिले व्याख्येय
छ । शनिबारको बिदापछि जति नै कठिनाइ भोगे
पनि हँसिलो मुहार पारेर आइतबार अफिस जानुपर्ने सामान्य स्तरका कर्मचारीको बाध्यता, मानसिक तनाब र
सङ्घर्षलाई यस कविताले उजागर गरेको छ ।
कर्मचारीको बिहान घरबाट कार्यालय पुग्दासम्मको दैनन्दिनलाई यथार्थवादी र
व्यङ्ग्यात्मक शैलीमा यहाँ यसरी प्रस्तुत गरिएको छ ।
खल्तीबाट रुमाल निकाली
पसिना पुछेर
हाँसिलो मुहारमा निस्किएँ
अफिसका लागि आइतबार
...हँसिलो मुहारमा
हाकिमलाई नमस्कार गरेँ आइतबार ।
यस कवितामा प्रस्तुत भएको हाँसो वास्तविक
खुसीको हाँसो होइन, जीवनका बाध्यता लुकाउने हाँसो हो । यस कविताले
कर्मचारी जीवनको तनाव र यान्त्रिक दिनचर्याको सूक्ष्म रूपमा चित्रण गर्नुका साथै
कमजोर शासनप्रणालीप्रति पनि व्यङ्ग्य गरेको छ ।
त्यस्तै घिमिरेका ‘हाकिम र म’ गजलमा पनि
कर्मचारी र हाकिमबिचको मनोवैज्ञानिक दुरीलाई प्रस्तुत गरिएको छ भने ‘झेली खेल’
कवितामा सामाजिक–राजनीतिक सम्बन्धभित्रको छल, स्वार्थ र कृत्रिमता
उद्घाटित गरिएको छ । कविले यहाँ जीवनका सामान्य घटनालाई व्यापक सामाजिक यथार्थमा
रूपान्तरण गर्ने क्षमता देखाएका छन् ।
यस सङ्ग्रहको एउटा प्रमुख शक्ति यसको
यथार्थवादी सामाजिक चेतना हो । कवि समाजमा रहेको आर्थिक असमानता, वर्गीय विभाजन, अवसरको असमान
वितरण, स्वार्थ, भ्रष्टाचार, राजनीतिक विकृति, सामाजिक आडम्बर, सम्बन्धमा आएको
परिवर्तन, गाउँबाट सहरतर्फको पलायनजस्ता समस्यालाई कवितामा ल्याउँछन्
।
(ग) राजनीतिक विकृति, सत्तासंस्कृति र
व्यङ्ग्यचेतना
यस सङ्ग्रहको सबैभन्दा सशक्त पक्ष राजनीतिक
चेतना र व्यङ्ग्य हो । यस सङ्ग्रहमा सामाजिक तथा राजनीतिक व्यङ्ग्यको स्वर निकै
प्रभावकारी रूपमा आएको छ । ‘हराम मान्छे’, ‘चर्चा’, ‘हाकिम र म’, ‘गलगाँड गणतन्त्र’, ‘राजनीतिक बजार’, ‘मेरो देशमा’
शीर्षकका कविता यस दृष्टिले विशेष उल्लेखनीय छन् । यी कविताहरूमा कविले प्रशासनिक
ढिलासुस्ती, राजनीतिक अवसरवाद, भ्रष्टाचार, चाकडी प्रवृत्ति
र मूल्यहीन सार्वजनिक जीवनमाथि तीक्ष्ण व्यङ्ग्य गरेका छन् । व्यङ्ग्य यहाँ
सामाजिक विकृतिप्रति असन्तुष्टि व्यक्त गर्ने सशक्त कलात्मक उपकरण बनेर आएको छ ।
नेपाली साहित्यमा व्यङ्ग्यले सामाजिक आलोचनाको प्रभावकारी भूमिका निर्वाह गर्दै
आएका सन्दर्भमा यी कविताहरू त्यस परम्पराको निरन्तरता जस्ता देखिन्छन् ।
उनका यस किसिमका कविताहरू निकै छन् ।
तीमध्ये ‘गलगाँड गणतन्त्र’ कवितामा राजनीतिक परिवर्तनपछि पनि जनजीवनमा अपेक्षित
परिवर्तन नआएको अवस्थाप्रति असन्तोष व्यक्त गरिएको छ भने ‘राजनीतिक बजार’ गजलमा
वर्तमान राजनीतिक संस्कृतिप्रति तीव्र व्यङ्ग्य गरिएको छ । यहाँ ‘राजनीतिको बजार’
गजलको एउटा उदाहरणलाई लिन सकिन्छः
न त जुट बिक्छ न छुट
बिक्छ,
बिक्छ त केवल यहाँ झुट
बिक्छ
यहाँ ‘झुट’ शब्द बहुआयामिक छ । यसले चुनावी
घोषणा, विकासका आश्वासन, राजनीतिक प्रतिबद्धता र
जनतालाई देखाइने सपना सबैलाई सङ्केत गरेको छ । कविका विचारमा राजनीति बजारमा
रूपान्तरित भएको छ, जहाँ मूल्य, आदर्श र सिद्धान्तभन्दा
झुटको व्यापार चलिरहेको छ । त्यस्तै ‘मेरो देशमा’ मुक्तलयका कवितामा उनी भन्छन् ः
कानुन बन्छ, लागु हुँदैन,
योजना हुन्छ, बजेट हुँदैन ।
यी पङ्क्तिहरू नेपाली प्रशासनिक संरचनाको
गहिरो विडम्बना हुन् । नीतिनिर्माण र कार्यान्वयनबिचको दुरीलाई कविले यहाँ अत्यन्त
सरल भाषामा प्रभावकारी ढङ्गले व्यक्त गरेका छन् । यस क्रममा ‘राप्तीपारि वन डढेछ’
कवितामा कवि लेख्छन् ः
प्रतिष्ठाको लालसामा
खङ्ग्रिएका आत्माहरू
धनको आभूषणमा प्रतिष्ठा
बटुलिरहेछन्
इमान, जमान र नैतिकताको
खडेरी परेछ
यहाँ मन डढेछ ।
यहाँ वनडढेलो केवल प्राकृतिक घटना होइन । यो
नैतिक मूल्यको विनाश, राजनीतिक पतन र सामाजिक विकृतिको प्रतीक बनेको
छ । कविले यहाँ बाहिरी आगोभन्दा भित्रको आगो बढी खतरनाक भएको सन्देश दिइरहेका छन् ।
(घ) पलायन, अविकास र
भविष्यप्रतिको चिन्ता
गाउँबाट सहर, देशबाट विदेश पलायन एवम्
नागरिकको मुलुकभित्र विस्थापन र असमानुपातिक विकास समकालीन नेपालको गम्भीर समस्या
हो । कवि युवराज घिमिरेले यस विषयलाई पनि प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना कवितामा
गम्भीर रूपमा उठाएका छन् । ‘व्यर्थै गाउँ छोडियो’ कविता यसको एउटा उदाहरण हो ः
न चौपारी न त छ दोबाटो,
कहाँ खोलुँ मनको पिर
गाँठो ।
चोक्टा खा छन् भन्ठान्थेँ
सबैले
झोल रै’छ चाल पाएँ ऐले ।
चौपारी यहाँ गाउँको सामुदायिक जीवनको प्रतीक
हो । गाउँ छोडेपछि मानिसले भौतिक सुविधा त पाउँछ तर आत्मीय सम्बन्ध गुमाउँछ भन्ने
भाव यसमा छ । यसले एकातिर गाउँप्रतिको माया प्रकट गरेको छ भने अर्कातिर आफँै गाउँ
छोडर सहर पसेकामा पश्चात्ताप बोध पनि
गरेको छ । यस कविताले मूलतः आधुनिक विस्थापनको मनोवैज्ञानिक पीडालाई राम्ररी
व्यक्त गरेको छ । त्यस्तै ‘कर्णालीको आँसु’ गीति कवितामा दुर्गम नेपालको पीडादायी
यथार्थ यसरी पोखिएको छ ः
फुटेका गोडा, रगत बग्दा कसिछन्
बेसरी,
तीन वर्षे छोरो पिठ्युँमा
बोकी हिँड्दी हुन् कसरी ?
विकासे नारा घन्काउँछन्
नेता काम केही गर्दैनन्
के तिनका आँखा नदेख्ने
छन् र यो दुःख देख्दैनन् ।
यो प्रश्न र गुनासो केवल कर्णालीकी एउटी
आमाको दुःख मात्र होइन, राज्यको विकास नीतिमाथिको प्रश्न र गुनासो पनि
हो । यसमा राज्यको नीति र नेताप्रति चर्को गुनासो व्यक्त गरिएको छ र यस्ता
परिस्थितिले नै मानिसलाई आफ्नो थातथलो छोड्न बाध्य बनाएको छ भन्ने विचार प्रकट गरिएको
छ । यसरी कवि घिमिरेका कविताले पलायनको सामाजिक पृष्ठभूमि र असमान विकासको
अवस्थालाई उजागर गरेका छन् ।
(ङ) गाउँ, सहर र समकालीन
जीवनका बिचको द्वन्द्व
घिमिरेका कवितामा गाउँ र सहर दुई फरक सभ्यता
र संवेदनाको चित्रण पनि छ । गाउँमा आत्मीयता छ भने सहरमा सुविधा, गाउँमा आत्मीय
सम्बन्ध छ भने सहरमा एक्लोपन छ । यस कुरालाई ‘मेरो सहर’ गजलमा कविले यसरी प्रकट
गरेका छन् ः
जता जाउँ जिउँदा लास
भेट्छु,
म अझै बाँच्ने रहरमा छु ।
यहाँ ‘जिउँदो लास’ आधुनिक मानिसको
संवेदनहीनता र अस्तित्वगत शून्यताको शक्तिशाली प्रतीक हो । सहरमा मानिसहरू शारीरिक
रूपमा जीवित भए पनि भावनात्मक रूपमा मृतप्रायः देखिन्छन् भन्ने भाव यसमा व्यक्त छ
। त्यस्तै ‘को ठुलोे’ कविताले विज्ञान र प्रविधिको प्रगतिका बिच मानिसको नैतिक
सङ्कट र एक्लोपनलाई उजागर गरेको छ । यहाँ कविले आधुनिकताको चमकभित्र लुकेको मानवीय
रिक्तताप्रति चिन्ता प्रकट गरेका छन् ।
(च) प्रेमप्रणय र मानवीय
सम्बन्धको अभिव्यक्ति
प्रेमप्रणय घिमिरेको काव्य संसारको अर्को
महत्वपूर्ण विषय हो । उनका प्रेमिल कविताहरू केवल रोमान्टिक भावनामा सीमित छैनन्
तिनमा स्मृति, समर्पण, सहयात्रा र अस्तित्वगत आत्मीयता पनि छ । यस्ता
कवितामध्ये ‘माया कि ओखती ?’ मा प्रेमलाई जीवनको औषधि र उपचारका रूपमा
चित्रण गरिएको छ भने ‘तिमी नहुँदा’मा प्रियको अनुपस्थितिले सिर्जना गर्ने
रिक्तताको अनुभूति छ अनि ‘विलीन माया’मा समयसँगै फिक्का हुँदै गएको प्रेमको वेदना
अभिव्यक्त छ । ‘तिम्रो साथ पाएपछि’ र ‘जीवनसाथीसँग’ कवितामा प्रेम जीवनलाई ऊर्जा र
अर्थ प्रदान गर्ने शक्तिका रूपमा लिइएको छ ।
यी कविताहरूमा प्रेम कृत्रिम र दार्शनिक नभई अनुभूतिपरक र सहज देखिन्छ । यस
सन्दर्भमा ‘माया कि ओखती ?’ गीति कवितालाई यहाँ उदाहरणका रूपमा लिन सकिन्छः
भोक प्यास सबै भुल्छु उनी
नजिक हुँदा,
सबै रोग निको हुन्छ उनले
मलाई छुँदा ।
प्रेमलाई यहाँ जीवनदायी शक्तिका रूपमा
चित्रित गरिएको छ । प्रिय व्यक्तिको उपस्थितिले जीवनका दुःख र अभावसमेत हलुका भएको
अनुभूति व्यक्त भएको छ । त्यस्तै ‘तिमी नहुँदा’ गजलमा वियोगको करुण व्यथालाई यसरी
व्यक्त गरिएको छ ः
फूल पनि झरी जान्छ तिमी
नहुँदा,
मन त्यसै मरी जान्छ तिमी
नहुँदा ।
प्रकृति र मनको अवस्थालाई समानान्तर रूपमा
प्रस्तुत गरेर यस गजलमा कविले वियोगको व्यथालाई तीव्रता दिएका छन् । फूल झर्नु र
मन मर्नुबिचको सम्बन्धले कवितालाई मार्मिक बनाएको छ ।
यस किसिमका प्रेम, मिलन र बिछोडको
अनुभूति गराउने उनका अरू पनि कविता छन् । ‘तिमी कति राम्री छौ’, ‘तिम्रो लागि’, ‘तिमी’, ‘बेग्लै मजा’, ‘माया र म’, ‘लोभी मन’, ‘तिम्रो पर्खाइमा’, ‘खै कस्तो
सम्बन्ध’, ‘अधुरो प्रेम’, ‘फेरि उनको याद आयो’, ‘विलीन माया’ र
‘साउने झरी’ यस किसिमका रचना हुन् । यी कविताले प्रेमका विविध आयाम प्रस्तुत गरेका
छन् ।
(छ) मानवतावाद, राष्ट्रप्रेम र
सामाजिक संवेदना
घिमिरेका कवितामा मानवता सबैभन्दा ठुलो
मूल्यका रूपमा उपस्थित छ । कविका लागि मानवता कुनै अमूर्त आदर्श होइन, व्यवहारमा देखिने
सहानुभूति, सहयोग र साझेदारी हो । उनी ‘राम्रो मन’ कवितामा भन्छन् ः
सेवा नै त धर्म आखिर यही
मूल कर्म हो,
सुखदुःख सँगै बाँड्नु
मानवताको मर्म हो ।
त्यस्तै ‘कोरोनाकालको साम्यवाद’ कवितामा
महामारीले मानिसबिचको कृत्रिम विभाजन भत्काएको अनुभूति व्यक्त छ ः
न सानो न ठुलो,
न धनी न गरिब,
आखिर मानव त मानव जाति नै
रहेछ ।
त्यस्तै कवि घिमिरेका कवितामा देशप्रेम र
राष्ट्रियताको भावना उनका माटो’ तथा ‘आहा मेरो देश’, ‘मेरो देशमा’ जस्ता
कवितामा व्यक्त भएको पाइन्छ । यहाँ ‘माटो’ कविताको एउटा उदाहरण हेरौँ ः
माटो हो जननी जगतभरिको
सृष्टिको एउटै भर,
जो जो छन् यस लोकभरिमा
सबको यो साझा घर
कविको राष्ट्रप्रेम केवल नारामुखी छैन ।
देशप्रेमसँगै देशको अवस्था सुधार्नुपर्ने आवश्यकता जोडिएको छ । कविको राष्ट्रचेतना
दुई तहमा देखिन्छ– पहिलो, देश, माटो, प्रकृति र
जनताप्रतिको आत्मीयता । दोस्रो, देशको विकृति, राजनीतिक असफलता, बेरोजगारी, पलायन र सामाजिक
विसङ्गतिप्रतिको आलोचना । यस अर्थमा उनको देशप्रेमलाई आलोचनात्मक राष्ट्रवादका
रूपमा लिन सकिन्छ । ‘आहा मेरो देश’मा राष्ट्रप्रेम प्रकृतिसँग जोडिएर यसरी आएको छ–
सगरमाथा सिर यसको हिमनदी केश,
जता हे¥यो त्यतै राम्रो आहा मेरो देश ।
यहाँ नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक
विविधता, ऐतिहासिक गौरव र भौगोलिक विशेषतालाई प्रस्तुत गरी देशको
महिमा गाइएको छ ।
(ज) जीवनदर्शन र समयचेतना
युवराज घिमिरेका कवितामा जीवन दर्शन र समय
चेतनाको पनि अभिव्यक्ति पाइन्छ । उनका ‘जीवन दर्शन’, ‘जीवनको नियति’, ‘समयको चक्र’, ‘सृष्टिको नियम’, ‘के थाहा ?’ र ‘मबाट हामी
बन्नु छ’ जस्ता कविताहरूमा यस किसिमको चेतना पाइन्छ ः
समयको चक्र यस्तै हो
घुमिरहन्छ छिन छिन
ठुलासाना सबैलाई ठाउँमा
ल्याउँछ एक दिन ।
‘समयको चक्र’बाट उद्धृत यस कवितांशले समयको
परिवर्तनशीलतालाई स्वीकार गर्न सिकाउँछ । हिजो कमजोर व्यक्ति आज सम्पन्न हुन सक्छ, हिजो उपेक्षित
व्यक्ति आज सम्मानित हुन सक्छ । त्यसैले जीवनलाई स्थिर होइन, परिवर्तनशील
चक्रका रूपमा बुझिएको छ । ‘जीवनको नियति’ले सुखदुःखलाई जीवनको स्वाभाविक प्रक्रिया
हो भन्ने बोध गराउँछ । त्यस्तै ‘सृष्टिको
नियम’ कविताले प्रकृतिको चक्रमार्फत जीवन र मृत्युको सम्बन्धलाई बुझाउँछ । ‘मबाट
हामी बन्नु छ’ कवितामा मानव अस्तित्व र सामूहिक चेतनाका बारेको भावलाई व्यक्त
गरिएको छ ।
यसरी यी कविताले आइतबारको अफिस बविता–सङ्ग्रहलाई
केवल सामाजिक दस्तावेज मात्र नभई दार्शनिक आयाम पनि प्रदान गरेका छन् । कविका
विचारमा जीवन सरल र एकरेखीय छैन, उत्थान–पतन, सुख–दुःख, मिलन–बिछोड, सफलता–असफलता, आशा–निराशा सबै
सँगसँगै आउँछन् ।
(झ) भाषाशैली र कलात्मकता
युवराज घिमिरेका कविताका भाषाशैलीको प्रमुख
विशेषता भनेको सरलता, स्पष्टता र सम्प्रेषणीयता हो । उनका कवितामा
जटिल बौद्धिकता वा दुर्बोध्य प्रतीकभन्दा जीवनसँग जोडिएका विम्बहरूको प्रयोग छ ।
उनका गीति कवितामा लोकगीतको मिठास, लयात्मकता र सामूहिक
संस्कृतिको प्रभाव छ भने गजल स्वतन्त्र लयमा लेखिएका भए पनि तिनमा रदिफ र काफियाको
प्रयोगले कलात्मकता उत्पन्न गरेको छ अनि मुक्तलयका कविताहरूमा कथात्मकता, संवादात्मकता र
यथार्थपरक प्रस्तुति रहेकाले ती आस्वाद्य छन् ।
भाषिक दृष्टिले घिमिरेका कविता सरल, सहज र
प्रवाहपूर्ण छन् । जटिल शब्दावली र कृत्रिम कलात्मकताभन्दा उनी अनुभूति र विचारलाई
सिधा तर अर्थगर्भित ढङ्गले प्रस्तुत गर्न रुचाउँछन् । व्यङ्ग्य, प्रश्न, प्रतिरोध र
संवादात्मक शैली उनका कविताका प्रभावकारी उपकरण बनेका छन् । विम्ब र प्रतीक
प्रयोगको सौन्दर्यका दृष्टिले उनका कवितामा सरल तर प्रभावकारी विम्बहरू छन् । यसमा
हिमाल, पहाड, तराई, नदी, गुलाफ, कमल, गौँथली, वन, झरी आदि
प्रकृतिविम्बका रूपमा, कन्सल्टेन्सी, कार्यालय, बजार, राजनीति, सत्ता, वनको आगो आदि
सामाजिक बिम्ब र प्रतीक्षा, अँध्यारो, उज्यालो, घाउ, आगो, झरी आदि
मनोवैज्ञानिक विम्बका रूपमा आएका छन् ।
घिमिरेका गीति कविता हुन् या गजल वा
मुक्तलयका कविता तिनमा विचारप्रधानता तथा समकालीन यथार्थबोध प्रबल छ । यथार्थको
कठोरतालाई निराशामा मात्र सीमित नगरी त्यसबाट आशा र परिवर्तनको सम्भावना खोज्नु
उनको काव्यदृष्टिको सकारात्मक पक्ष हो । यसरी
उनका कविता सामान्य पाठकदेखि गम्भीर पाठकसम्म सबैका लागि ग्रहणीय बनेका छन्
।
३. निष्कर्ष
कवि युवराज घिमिरेको आइतबारको अफिस जीवन, समाज, राजनीति, प्रेम, विस्थापन, राष्ट्रप्रेम र
मानवता आदि विविध पक्षलाई समेटिएको बहुआयामिक कवितासङ्ग्रह हो । यस सङ्ग्रहको मूल
शक्ति यथार्थबोध, सामाजिक चेतना, व्यङ्ग्यात्मक दृष्टि र
मानवीय संवेदनामा निहित छ । त्यसैले आइतबारको अफिस समकालीन नेपाली समाजको चित्रण र
समयसँग संवाद गर्ने उल्लेखनीय काव्यकृतिका रूपमा आएको छ । कवि युवराज घिमिरेका
कविताका केही सीमाहरू पनि छन् । यसको पहिलो सीमा हो– विषयको विस्तारका कारण कतिपय
रचनामा विचारको गहिराइभन्दा तत्कालीन प्रतिक्रिया बढी देखिन्छ । दोस्रो, कतिपय गीति
कवितामा तुक र लय मिलाउने क्रममा काव्यात्मक नवीनता केही कमजोर भएको अनुभव हुन्छ ।
तेस्रो, राजनीतिक सृजनामा केही ठाउँमा व्यङ्ग्य वा व्यञ्जनाभन्दा
प्रत्यक्ष टिप्पणी बढी देखिन्छ । चौथो, कतिपय प्रेमविषयक कवितामा
एउटै प्रकारका भावको पुनरावृत्ति रहेको छ । पाँचौँ, कतिपय कवितामा भावगत
वैचारिक स्पष्टताको कमी पनि छ । यो उनको पहिलो कविता–सङ्ग्रह भएकाले यी सीमाहरूलाई
कविको आभ्यासिक अवस्थाका रूपमा हेर्नुपर्छ ।
यसरी आइतबारको अफिस सङ्ग्रहका कवितामा केही सीमा भए
पनि यो केवल एउटा कर्मचारी कविले आफ्ना अनुभवहरू टिपोट गरेको सङ्ग्र्रह मात्र होइन, यो आफ्नो पेसागत
जीवनबाट प्राप्त अनुभवलाई सामाजिक यथार्थ, मानवीय संवेदना र
परिवर्तनको चेतनासँग जोडेर गरिएको काव्यिक अभिव्यक्ति हो । अर्थशास्त्रको अध्ययन, बैंकिङ क्षेत्रको
लामो अनुभव र अध्यापनबाट प्राप्त सामाजिक–मानवीय अवलोकन उनका कविताको पृष्ठभूमिमा
देखिन्छ । यही अनुभवजन्य धरातलमा उभिएर युवराज घिमिरेले समकालीन जीवनका विविध
पक्षलाई कवितामा उतारेका छन् । यसर्थ प्रस्तुत कवितासङ्ग्रहले उनको कवि
व्यक्तित्वका सम्भावना र प्रवृत्तिलाई बुझ्ने महत्वपूर्ण आधार प्रदान गरेको छ ।
