समालोचना
प्रशान्त खरेल : गद्यकविको सुखद आगमन
१. प्रारम्भ
प्रशान्त खरेल (२०३८, झापा) नेपाली
गद्य कवितामा आएको सुखको अवस्था हो, ‘आगा फिलुङ्गाहरू’ (२०७८)
कवितासङ्ग्रह प्रकाशनमा आएको छ । कविताहरू छत्तिसओटा, कृतिको विस्तातिर
रूप ८४ पृष्ठसम्म, प्रकाशक अनिता कोइराला, भूमिकामा प्रा.डा.जीवेन्द्रदेव
गिरी रहनुभएको किताब २०७७ देखि प्रकाशनमा आउन प्रयास गर्दै २०७८ मा छापिएको छ ।
पश्चपृष्ठको फोटामा कवि खरेल देखिन्छन् र जीवेन्द्रदेवका अभिव्यक्तिको एक अंशले
स्थान पाएको अवस्था छ । प्रा.गिरीका शब्दमा कवि प्रशान्तका कविताले आश्वादनका
निम्ति बौद्धिकताको माग गर्छन् । पाइथागोरस, आर्किमिडिज, माल्थस, आइन्स्टाइन आदि
अनेक वैज्ञानिक र दार्शनिकका सिद्धान्तमा घोत्लिँदै उनी जीवनलाई अथ्र्याउन खोज्छन्
। यसरी विज्ञान र दर्शनका प्रतीकहरूबाट कविताको अर्थको सूत्र खोजिन्छ ।
यस कृतिको सुरुको
उकालो कविताको शीर्षक लामो देखाइनु र सुरुमा नै लामो शीर्षक पाइनु हो ।
‘मध्याह्नको कुहिरो, राम पुकार, जुगल र निनी आमै’ त्यसै
पनि असहज छ, अरू शीर्षक त्यस्ता छैनन् ः तिमी, म र सपनाहरू, अधिकार र सपना, झापा सुन्दरी, सिसिफसको ढुङ्गो, मृत्यु
पर्खिरहेको म, विचलन, अनिदो म, बिडम्बनाजस्ता कति
शीर्षकमा भने शीर्षकको धर्म धानिएको छ । समय समयमा शब्द संयोजन, मधुपर्कजस्ता
प्रसिद्ध पत्रिकामा प्रकाशित रचना समेटिएर सङ्ग्रहको यो रूप देखिएको छ ।
२.१ विषयप्रवेश
खरेलको लेखनले हाम्रो
घरआँगनप्रति सम्मान गर्छ । घाममा शक्ति छैन, मधुरो घामले न्यानो दिनखोजेको
भए पनि पूर्ण रूपमा दिँदैन । खेती छ, घट्टा छ, गाउँ काममा
व्यस्त छ, आरन छ, आरनमा केही न केही गरगहना बनाउनेहरूको कमी छैन
। आफ्नो गाउँ शान्त छ, यसैमा बसेर शान्त रूपको जीवन पाउन अहिले व्यस्त
र स्वस्थ्य रहनुपर्छ । सूर्य कमजोर, किनकि यहाँ बादलको शासन
चल्दै छ, प्रगतिका पथहरूमा व्यवधान छ र त यसको प्रगति नै समस्या भएको
छ । उही हो आरन र भाँटी लुहारका प्रतीक हुन्, जीवनमा हामी जे गर्दै छौँ
। त्यो पनि लुहारको फाली पिट्ने
आरनभन्दा कमीको छैन ।
मुखिया र विष्टका
हतियारमा
पाइन् हाल्दै आएका
राम पुकारहरूको जीवनमा
कहिल्यै पाइन् आएन ।
(मध्याह्नको कुहिरो...)
यो पहिलो कविता हो, चार गुच्छकको
आकारमा लामो छ, गरिब श्रमिक सम्झनामा छन् । सपना सुन्दर देखियुन्, कतैबाट अवरोध
नआओस् भन्ने मात्र होइन सिर्जना स्वस्थ्य बनोस्को कामना हो । महल त्यसै बन्दैन, इँटा त्यसै
आउँदैन, त्यसका पछि पछि अथक परिश्रमको आवश्यकता रहन्छ । झनै
चेतनाभित्र पूmल फुल्दै छ, कसैले प्रकृतिलाई रोक्न
सक्दैन ः
‘म रुखमुनिको उजाड भूमिमा
सृजनाका पालुवाहरू झुलाउन
खनीखोस्री गरेको माटो
आफ्नै पसिनाले भिजाउँदै
अजरअमर बीजहरूको खोजीमा
अक्कर भिरको बाटो हिँड्न
सामल तुमल कस्दै छु ।’
खेती नै हो धान वा मकैको, त्यसैलाई प्रतीक
बनाएर गरिएको अभिव्यक्तिले सारा क्षेत्रहरू अटाउँछ । सारांशमा यी खेतीपाती, अक्षरको खेती, कविता–खण्डकाव्य
वा महाकाव्यको सिर्जना, कम्प्युटरको प्रयोग वा उद्योगको खरखजाना सबैसित
भिरको यात्रा छ । अक्करे भिरमा सालिम्मो समाउँदै यात्रा गरेर हिमाल आरोहणमा लिन
युवा संसार हे¥यो भने यी भनाइले अर्थबोधको सूत्र दिँदै जाने छन् । यहाँ
आएर हामी उही भित्तो, उही पाखो र उही खोलो तर्दै श्रम गर्दै छौँ ।
गणितका सूत्रहरू प्रयोग हुन्छन्, कवितामा गणित पठन हुन्छ । गणितको सूत्रको काम
छैन भनियो, किनभने तिनीहरू विपन्न जान्छन्, हेपिन्छन्, हेप्नेहरू महाराज
छन् त्यसैले तिनलाई जीवित लास र तिनको बस्तीलाई चियानघारी भन्न लागिन्छ । हामी
संसारको चेतनशील औकातबाट टाढा भएको शङ्का गरिन्छ, त्यसमा पनि हाम्रो
बुद्धिको तहले कति माथि पुग्नुपर्ने हो, कति अँगाल्न सकिए, कति सकिएनन् ।
संसारमा सगरमाथा मात्र रहोस् भन्ने होइन, हामी पनि रहन पाऊँ र
माल्दिभ्स नडुबोस् भन्ने कामना भौगोलिक चेतना हो ।
शालिग्राम र बुढासुब्बा
सम्झने कविले धरानको डाँडामा उभिएका टुप्पा नभएका बाँसहरू सम्झनामा लिएका छन् ः
“केही पर विजयपुर डाँडामा
सर्वथा अलग
तुलनात्मक रूपमा कमजोर
विनाटुप्पाका बाँसहरूले
घेरिएर
पातला धागाका बन्धनहरूमा
सुरक्षित अनुभव गर्दै छ
एक्लो बुढासुब्बा ।”
यो परिवेश चित्रणमा
सत्यता छ । हामीले देखेका छौँ । श्रम गर्न विदेश गइन्छ, विदेश जानेका
झोलामा स्वदेश फर्किंदा अनेक प्रकारका सामग्री आउँछन्, कपडा, सुन, चाँदी र पैसाको
कमी छैन भन्ने ठानिन्छ । “तिम्रा सपना सजाउने फिलुङ्गाहरू” अथवा हामी ठान्दै छौँ,, फिलुङ्गा प्रतीक
हुन् । तिनले दिने विम्बात्मक अर्थले अलिकति धन, अलिकति माया, अलिकति आँट वा
हिम्मत भन्नेसम्म बोध हुन्छ । गृहिणी र सन्तानका आशाहरू प्रशस्त हुन्छन्, ती सबैमा
फिलुङ्गाको जस्तो बल्ने शक्तिको आशा गरिएको छ । शृङ्गारको अलिकति अंश दिने रचना
‘झापा सुन्दरी’ भव्य छ । सेरोफेरो पढिन्छ, झापामा दमक छ, केर्खा र गौरादह
छन् । कतातिर भ्युटावर बनेको छ । कति खर्च हुन्छ, एउटा उद्योग खोल्नपुग्ने
भएको छ, त्यसको प्रयोजन सौन्दर्यसँग देखिएला तर नेपालीको त्यो तह
पुगेकै छैन । त्यस समयमा भेटिएकी दमकतिरकी सुन्दरी आलम्बन विभाव, तिनको चहलपहल
उद्दीपन विभाव, साथसाथै गरिएको दमकतिरको यात्रा अनुभाव र आज भेटघाट नभएको
एक्लोपना व्यभिचारीभाव भएर रचना गरिएको रचनामा अलिकति आकर्षण छ । जिन्दगीको
परिभाषा भव्य रहेछ, बिहानै उठ, नित्यकर्म सक, भोकतिर्खा मेटाऊ, काममा जाऊ, सरम नमानी पसिना
बगाऊ, सकभर झुटो नबोल, सही र सत्य कुरामा
मस्तसित बोल, उकाला बाटा छन्, ती बाटामा डटेर अगाडि बढ, भव्य तरिकाले काम
सम्पन्न गरेँ भनी सुत, फेरि बिहान हुन्छ, सोही काम गर जसरी
सिसिफसले त्यो उकालामा ढुङ्गो दिनदिनै ठेलिरहन्छ ।
“म त ढुङ्गो हुँ, उचाइको चुचुरोमा
छाडेपछि समतल स्थिरताको खोजीमा गुड्नु मेरो स्वभाव हो ।” हामी पनि सङ्घर्षबाट तल
झर्ने दिनमा त्यही ढुङ्गोजस्तै हुने निश्चित छ, त्यसमा कुनै शङ्का छैन ।
जीवनमा अस्तित्वका लागि हामी भिडे पनि अन्त्यमा विसङ्गतिको भोकमा एक गाँस हुने छौँ
। यही विषयले मूल स्थान लिने उक्त पाठ सिसिफसको ढुङ्गो उपमा बनेर उदाउँछ । खरेलका
रचना लगभग अग्रज कवि मोहन कोइराला (१९८३–२०६३) का गतिसित दगुर्न खोजे पनि सकिरहेका
छैनन् । कोइरालाका काव्य र स्फुट कवितामा सांसारिक चेतना र सुन्दर सांस्कृतिक पठन
भएको विद्वान्हरू बताउनुहुन्छ तर सर्वसाधारण पाठक भने त्यतिभित्र पुग्नसक्दैनौँ ।
यहाँ प्रशान्तका रचनामा पनि कतै त्यसरी अति गहिरो संस्कार पठन नहोला भन्न सकिएन र
भिथकीय चेतनाले शिखर छुँदै जान्छ ः “उर्वशी र मेनकाहरूको चञ्चलता, चपलता र
सुन्दरताको घुमिल छवि, बन्द परेलीमा कैद गर्दै ...” भनिएको छ ।
आफन्तको विषयमा लेखिएका धेरैओटा गुच्छक छन्, भावले जति गहिराइ समाउने
प्रयास गरे पनि हामी नपुगौँला तर पनि यहाँ पखेटा, परेवा र मन्दिरको पुजारी
सम्झाउने शब्दका गुच्छक पढिन्छन् ।
“तर अफसोस् ! दुवै
पखेटाहरू आज काटिएका छन्, तप तप रगतका राता ताता थोपाहरू झर्दै छन् ।”
(पृ.२६) यहाँ छेउमा बसेको आफन्तको क्रियाकलाप पठन गरिन्छ, आफ्नै नातामा
आउने मान्यजन वा सहयोगीबाट लुटिएर बिखर्ची बन्ने पात्र धेरै छौँ । मिथकपठनमा
प्रमिथसले आगो चोरे, उर्वशीले नृत्य बिगारिन्, मधुमालतीले
विष्णुको अपमान् गरिन्, द्रौपदीले दुशासनको रगत पिउन सकिन् । यी सबै
हाम्रा प्राचीन ग्रन्थमा पठन मनन गरिने प्राक्कल्पना हुन् । यी घटनाको छाप आजको
जमानाले भोगेको देखाउने गरी रचिएका गुच्छकहरू ‘अनुभूतिको संरचना’ (त्जभ क्तचगअतगचभ
या ँभभष्लिन) बाट प्रभावित हुन्छन् । आपूmले पठन गरेका यी कृतिहरू
र भौतिक संसारमा देखिने भोगिने स्थितिको संयोजन गर्दा ‘बहादुर प्रमिथस’ जन्मन्छ ।
नयाँ वर्ष आउँछ र जान्छ । हामीले पनि कुनै बाढीको नववर्ष देख्यौँ, कुनै नववर्ष
भूकम्पको नववर्ष देख्यौँ, कुनै नववर्ष जेन्जीहरू मारिएको र सहरका भव्य
महल जलेको नववर्ष देख्नुपरेको हो । सरकारले इन्टरनेट बन्द गरिदिने, त्यसैको
विरुद्धमा युवाजमात संसद्भवन अगाडि नारा लगाउने, सरकार तिनलाई आतङ्ककारी
ठान्दै गोली हान्दै मार्दै गर्ने, अर्को दिन धमिलो पानीमा माछा मार्नेको मौका–दाउ
पर्ने र सिंहदरबार जलाउने मात्र होइन मुलुक नै ध्वस्त पार्ने नववर्ष पनि हेरिए !
“सधैँ पूmलको मात्र कविता
लेखिनुहुन्न
सधैँ वसन्तको मात्र
प्रशंसा गरिनुहुन्न
जीवनको तितो यथार्थ
खोतलेर
त्यसको समाधान पाउनुपर्छ
।” (पृ.–३२)
यहाँ एउटा शुभ दिन आए, अर्को अशुभ दिन
आइरहन्छ, हाम्रो नववर्ष कति दरिद्र बनेको छ ! हामी कति पनि विचलित
नबनेको समयसित कविले अङ्कमाल गर्दै
छन् ।
२.२ प्राकृतिक सौन्दर्यमा
मोह
प्रकृतिसित मित्रता छ, प्रकृतिलाई सजीव
बस्तुझैँ सम्मान गर्नसकिन्छ । हामी कति धनी छौं, यही सम्पदामा अत्यन्त धनी
छौंँ । हिमालयसित नाता राख्नेहरू हेरौँ ः
‘मलिन भएर
सुदूर क्षितिज चिहाइरहेको
वेला हिमाल हाँसिरहेछ ।’
आँधीको झम्टा, पानी–वर्षा–असिनाको
थप्पड सहन गर्ने हिमालले धैर्यको पाठ पढाउँदै छ । हेर्ने दृष्टि पुगेमा सुन्दर
वस्तु सबैतिर हुन्छ, उपत्यका होस् वा मुस्ताङको विकट चिसो बतास होस्, आफ्नो दृष्टि
पुगेमा सबैतिर निकुञ्ज देखिन्छ । सरासर बगिरहने वायुलाई हतार छ, उसले पनि आफ्नो
गन्तव्यमा निकुञ्ज देखेको छ । सागरबाट बग्ने वायुको दायित्व पनि होइन होला, “लहलह पार्नुछ
समतल भूमि” प्रकृतिले अल्छी गर्दैन, हावा वहन छोड्दैन, पानी प्राणदान
गर्न छोड्दैन, धर्म आआफ्ना छन्, धर्म छोड्ने चाहिँ हामी
मानव मात्र हौँ । टाढा पुगेको पात्रले आफ्नो गाउँ ठाउँको नदी सम्झन्छन् । पूर्वी
नेपालमा कन्काई माई प्रसिद्ध छिन्, तिनको गौरवले तीर्थस्थल
बनेको छ । श्रद्धालुहरू बाँच्दा नुहाउन जान्छन्, मर्दा पनि अन्त्येष्टि
गर्ने स्थान यतै बनाइएको छ ः
“टाढाबाट कन्काईको
आत्मासुसाइमा,
मेरो बालापनको याद दिलायौ
।” (पृ.५१)
यस प्रसङ्गले पूर्वी
नेपाल सम्झनामा छ र खरेलको बाल्यकालमा कन्काईसित भेट भएकै नदीमा श्रद्धा अर्पण
गर्दछ । सगरमाथा हाम्रो एक सौन्दर्य र एक प्राकृतिक सम्पदा हो । यसले नेपाललाई पनि
दान गर्छ, विश्वमा अग्लो भई नाम कमाएको छ ः
सगरमाथाको फेदीमा बसेर
उहिल्यै मैले घोषणा गरेको
छु
मेरो देश धरहराभन्दा
अग्लो छ ।”(पृ.८३)
यस किसिमका प्रकृतिसित
प्रेम रहेका अभिव्यक्ति निकै ठाउँमा छन्, मोह धेरै छ, अग्रज कविहरू
मोहन कोइराला, गोपालप्रसाद रिमाल, बैरागी काइँलाप्रभृति
मान्य कविहरूको प्रभाव परेर शब्द र वाक्यका धाराहरू अबिरल बगिरहन्छन् ।
२.३ शीर्षकको सार्थकता
आगो र त्यसका झर्झर गर्ने
कोइला, पृथ्वी तातो छ अनेक समस्या पृथ्वीमा उठिरहेका छन् ।
इजरायल–जेरुसेलमतिर बम गोलाबारुदले गन्ध छोडिरहेछ । इरान–इराकतिर अमेरिकी हमलाको
तयारीका लागि आगाको फिलुङ्गाहरू बोकेका भट्टीमा हतियार बनिरहेका छन् ! नेपालमा
माओवादी युद्धकालमा सदरमुकाम धेरै जले, कति जवानहरू आगामा पोलिए
। कतिका मनभित्र आगाको फिलुङ्गाहरू अझै झर्झर–झर्झर गरिरहेका छन् । २०८२ भाद्र २३
र २४ गतेमा आगाको शक्ति व्यापक रहेछ भन्ने विषयले जनता त्रासमा बाँच्यौँ, पाँच घण्टामा
पाँचसय घर सल्किए, राज्यको सर्वोच्च प्रशासन भवन सल्कियो । देशमा
त्रास छ, तराईमा धर्मको निहुँ मात्र गरेर आगाका फिलुङ्गा झर्झराउँदै
छन् भने शक्तिको दुरूपयोग नै आजको भीषण समस्या बनेको छ ः
“आमा ! मनभरि अनगिन्ति
रहरहरू बोकी
आगाका फिलुङ्गाहरू
टेकिरहेको छु म ।”
बिहान घरबाट हिँडिन्छ, बेलुकी घर आउन
सकिने पक्का छैन । यस किसिमको त्रासदी हाम्रो संसारको उपलब्धि आगाका फिलुङ्गाहरू
हुन् ।
२.४ जीवनमाथि लामो चिन्तन
ः
‘विचलन’ शीर्षकमा लामो
चिन्तन गरिन्छ, हाम्रो जीवनको पठन गर्नसकिँदैन, कोसिस भएकै हो ।
हाम्रा अभिलाषा अनन्त छन्, तिनीहरू नृत्यङ्गनाका पाउजुझैँ चञ्चल हुन्छन् ।
हामी कर्मशील छौँ, मृत्युले अब कर्म सकियो, रोक रोक भनिहाल्छ
। सिकारुले गरेको अभ्यासजस्तै जीवन अपूर्ण र अभ्यासमा समापन हुन्छ । मानव
अस्तित्वमा भिडिरहन्छ, म छु भन्ने धाक देखाउँछ, विसङ्गगतिले
झारेपछि झर्नै पर्छ ।
२.५ प्रगतिचेतका छिटा
प्राचीनदेखि आधुनिक युगका
महापुरूषप्रति श्रद्धा गरिएको छ । ती महान् मानवहरू अनेक प्रकारका योगदान गरेरै
मरेका छन् । तिनको योगदानलाई सबैले सम्मान नगर्लान् तर कविले सम्झनामा लिएका छन –
‘बुद्ध, गान्धी, माक्र्स, लेनिन, माओ, विपी, पुष्पलाल, गणेशमान
प्रगतिप्रति निष्ठा देखाउने महामानवहरू हुन् । यिनको जीवनी पठन गरेर यिनका सयौँ
गुणबाट एक दुई गुण हामी पनि लिन कोसिस गर्दैछौँ । कलमबाट भएको क्रान्ति सबैभन्दा
प्रवल छ, हतियारले नजित्ने क्रान्ति कलमको पहलबाट सम्भव भएका
उदाहरणहरू छन् । कलमको शक्ति खोसियो भने न्याय खोसियो, त्यसैले होसियार
भएर कलमको क्रान्ति जरुरी हुन्छ । “कलमको मसी भर्न रगत चुसाउँदा आक्रान्त भएका
हामी शक्ति, सामथ्र्य र विवेकको प्रयोग गरी ठुलो सफलता प्राप्त गर्छौँ
।” कविका शब्दमा जसरी शक्तिको सम्पन्न रूप देखिन्छ त्यसैगरी जीवनमा पनि सफलता
मिल्ने विश्वास गरिन्छ ।
३. निष्कर्ष ः
बौद्धिक चेतनाबाट
उदाउन खोज्ने कविहरूका सूचीमा प्रशान्त खरेलको प्रवेश सुन्दर पक्ष हो । बालकृष्ण
सम अगुवा थिए । यसैको सेरोफेरो घुम्ने रचना पठनयोग्य छन् । हामीले देखेको भोगेको
विश्वतिर ध्यान जानु यहाँ स्वभाविक हुन्छ । विज्ञान र कला मिलेर बनेको भवन बलियो
हुनेछ । हाम्रो देश मात्र होइन, संसारमा तापैताप छ, शक्ति–शक्तिमा
द्वन्द्व छ, आगो छ । सजिलो पठनले बौद्धिक कविता पठनमा कठिनाइ छ ।
बालकृष्ण समका आगो र पानीजस्ता काव्यको बौद्धिक चेत धेरै माथि होला, यस प्रकारका
पछिल्ला प्रयासमा निरन्तरताको खाँचो छ ।
:अस्तुः