कविता
ठेगाना
अञ्जु चालिसे “रुपाञ्जली”
हरेक वर्ष बगरहरूले
बस्तीका नामहरू बगाइरहन्छन्
म भने अझै किनारामा
आफ्नै ठेगाना खोज्दैछु
कसैले सोधेन
म कहाँबाट आएँ, कहाँ पुग्दैछु,
म त केवल
बगाइएका चिन्हहरूको धुलो समेट्दै
आफ्नै ठेगाना खोज्दैछु
आजकाल भोकले शरीर होइन
सपना खान थालेको छ
र म
एउटा रित्तो सासमा जीवन खोज्दैछु
नदी मौन छ
तर धेरै कुरा बगिरहेछ
म त्यही मौनभित्र
अर्थ खोज्दैछु ।
– विजय–लक्ष्मी निवास
रमेश
विकल प्रतिष्ठान मार्ग, आरुबारी