कविता
बामियान बुद्ध
सानुराजा श्रेष्ठ “अञ्जान”
चीत्कार, रोदन र कोलाजको धरहरा
चुलिएको बेला –
खोज्न पर्दैन कान्तिपुरका गल्लीगल्ली
म – बामियान बुद्ध भेट्ने छु
मनकै आकाशपुञ्जमा ढलिमली ...
धर्मको नाउँमा आगन्तुक परिधि बढाएर
मेरा पखेटाहरूलाई कुँज्याएर
गर्भाधान कैयन् आमाहरूलाई रक्ताम्य पारेर
तिमीले मेरा बुढी आमाहरूलाई विधवा बनाएर
निर्धक्क हरायौ –
मेरा रगतको खोला बगाएर ब्यालेष्टिक हान्यौ
सिद्धार्थ बुद्धका सीमाहरू मिचेर बढ्यौ
अब आफ्नै अस्तित्वका लागि
म बामियान बुद्ध उठ्नेछु ...
कोलाजको सगर चुलिएको बेला –
खोज्न पर्दैन अब ललितपुरका गल्लीगल्ली
मानवताका मूर्तिहरू मेरो देशबाट प्रस्थान गरिसके
म जस्ता बामियान बुद्धहरू भेट्नेछौ,
छातीमा हात राखेर
अब तिमी झस्कनेछौ ...
भूगोलको अन्तरमा नखोज
म – बामियान बुद्ध भेट्नेछु
मनकै आकाशपुञ्जमा ढलिमली ... !
– पशुपति, देउपाटन,
पाचाटोल, काठमाडौँ–८