समीक्षा
पाखण्ड पुराण”मा दृष्टि प्रक्षेपण
डा. घनश्याम न्यौपाने “परिश्रमी”
गजल, उपन्यास, लघुकथा, गीतिकाव्यगायतका केही कृति प्रकाशित गरी नेपाली साहित्यिक जगत्मा आफ्नो पहिचान बनाएका धनराज गिरीको पछिल्लो कृति पाखण्ड पुराण (२०८१) नामक व्यङ्ग्यसङ्ग्रह भर्खरै पढेर सकेँ । पाखण्ड र पुराण दुवै संस्कृत स्रोतका तत्सम शब्द हुन् । पाखण्डको कोशीय अर्थ हुन्छ, वेदोक्त सनातन धर्मबाहेक अन्य धर्म अवलम्बन गर्ने व्यक्ति । यसले धुर्त, फटाहा, धर्म वा संस्कृति÷संस्कारका नाममा अरूलाई फसाउने व्यक्ति जस्ता अन्य विविध अर्थ पनि दिन्छ । पुराणले पुरानो भन्ने कोशीय अर्थ द्योतन गर्दछ । यसले वैदिक सनातन धर्मका पौराणिक ग्रन्थहरूलाई पनि बुझाउँछ भने साहित्यका क्षेत्रमा पनि यसको प्रयोजन देखिन्छ । वेदव्यासद्वारा विरचित पुराणहरूको सङ्ख्या अठार छ । यी सबै सनातन हिन्दुधर्मका महत्वपूर्ण ग्रन्थ मानिन्छन् । यी ग्रन्थहरू साहित्यका उपजीव्य ग्रन्थ पनि मानिन्छन् । यिनका कैयौँ कथा उपकथाहरूमा प्राचीन कालदेखि अद्यपर्यन्त प्रशस्त खण्डकाव्य, महाकाव्य, नाटक, उपन्यास आदि लेखिएका छन् । पुराण शब्दको प्रयोग गरेर पुराणेतर कृतिहरू पनि लेखिएका छन् । मोदनाथ शास्त्रीद्वारा विरचित ब्रह्माण्ड पुराण महाकाव्य प्रगतिशील चिन्तनधाराको कृति हो । अरूले पनि पुराण शब्दका अगाडि कुनै विशेषण पद संयोजन गरेर लेखेका कृतिहरू प्रकाशित छन् । यहाँ तिनको नालीबेली दिन सम्भव छैन । यसै प्रक्रममा धनराज गिरीका फुटकर व्यङ्ग्य लेखहरूको सङ्ग्रहका रूपमा पाठकलोकमा आएको छ पाखण्ड पुराण । यहाँ यही पाखण्ड पुराण पठनपछिको प्रभावमा केही लेख्ने जमर्को गरेको छु ।
यस कृति
अन्तर्गतका फुटकर लेखहरूलाई कथा वा निबन्ध भनेर विधागत निक्र्यौल गरिएको छैन ।
व्यङ्ग्यसङ्ग्रह मात्रै भनिएको छ । तर यिनलाई हास्यव्यङ्ग्य निबन्धभित्र समेट्न
सकिन्छ । सज्जन कसले खोजेको छ र ?, महागुरुको कार्यतालिका, म के कम छु, कालीपारे आमोईको
गन्थन, रहरको कहर, सुमित्रानन्दनको डा. मोह, जी आतङ्क, त्रेतादेखि
कलिसम्म, क्याम्पस प्रमुख भएस्, महान् स्वामीजी कामानन्द
सरस्वती, प्रभुको राजदुत हुने सपना, कवि सौन्दर्य मीमांसा, स्वादे आफन्तहरू, सङ्केत, गुणस्तरीय शिक्षा, गरिबको नेता, आसन ग्रहण, जमिनदार र जोगी, अभागी चोर, सम्मानित महोदयको
मन्तव्य, सासु र बुहारी सदाबहार जुहारी, महान् त्यागी, छोरी ! म
सुध्रिएँ, जोडदार ताली, सहनशील सुशील, फरक, मिस्टर सर्वहारा, त्यो मान्छे को
हो ?, सल्लाहकार, २५ वर्षअघि, खुसी लाग्यो, पहाड घर, प्रकार, दशावताराभिनन्दन, उत्तर आधुनिक
शिक्षा, कसरी हार्नुभयो ?, छत्तीसगन्ज, उत्तर आधुनिक
लेखक, आई लभ यु, कमरेड विस्फोट र ठगलाल, वैशाखनन्दन, परिचय, प्रेम महल, थाहावतार, अद्वितीय
अन्तर्वार्ता, साहित्यकार ः स्थापित र श्रापित, दशरथ जानकी
वार्ता, अनौठो मुद्दा, अर्थोष्मा, ज्ञानोष्मा, रूपोष्मा, पदोष्मा र विवेक, देशप्रेमी
नेताजी–जिन्दावाद !, इमान, योग्यता, विवेक र सहकार्य
तथा कुमारीपथगामीसहित यसभित्र ५२ थान व्यङ्ग्य समाहित छन् । यसभित्रका
व्यङ्ग्यहरूसङ्क्षिप्तमा डेढ पृष्ठदेखि बृहत्मा आठ पृष्ठसम्म विस्तारित छन् ।
अधिकतर चार, पाँच, छ पृष्ठका छन् । समग्रतः २५२ पृष्ठको छ यो
व्यङ्ग्यसङ्ग्रह ।
शिक्षाक्षेत्रका
विकृतिहरूमध्ये विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थानहरूमा परीक्षामा चिट गरेर
कक्षा उत्तीर्ण हुने प्रवृत्ति, विद्यार्थी नेताहरूका गुन्डागर्दी, नक्कली
प्रमाणपत्रधारीहरूको प्रभुत्व, कामचोर प्राध्यापक÷शिक्षकहरूको
वर्चस्व, छात्राहरूका चर्तिकला जस्ता कुराहरू यी व्यङ्ग्यमा प्रशस्त
छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी
लगायतका नेताहरूका चरित्रको उदाङ्गो चित्रणसहित राजनीतिक क्षेत्रका
विकृतिविसङ्गतिहरूको विश्लेषण पनि गरिएको छ । मुलुकको अवनतिप्रति सोझासिधा
बुढाबुढीहरू चिन्तित छन् भन्ने प्रसङ्गहरू यहाँ भेटिन्छन् । लेखकले आवेशमा
नेताहरूका नामै किटेर यस्तो समेत भनेका छन् एउटा व्यङ्ग्यमा– ‘ओलीजी र माधवजी, शेरजी र
प्रचण्डजी, यी निकम्माहरूबाट देश बन्छ ? प्रचण्डजी लगायत ६५ वर्ष
माथिकालाई बनारस पठाउनुपर्दछ कि सुन्दरीजल ।’ सामाजिक, धार्मिक र
साहित्यिक क्षेत्रका कमजोरीहरूमाथि पनि लेखकको वक्रदृष्टि राम्रोसँग परेको छ ।
क्षमताहीन कविहरूप्रति व्यङ्ग्य गरिएको छ । सान्दर्भिक प्रसङ्गमा उपयुक्त खालका
टुक्काहरूको बग्रेल्ती र कतै कतै उखानहरूको पनि प्रयुक्ति भेटिन्छ । झिनामसिना
प्रसङ्गहरू विनोदी शैलीमा विशदीकरण गरिएका छन् । यिनको शाब्दिक अनुप्रासीय
कलात्मकता मनमोहक लाग्दछ । नेपाली साहित्यका हास्यव्यङ्ग्य महारथी भैरव अर्याललाई
सम्झाउने खालका अनुप्रासयुक्त शब्दावलीको चमत्कारपूर्ण प्रयोगमा गिरी निष्णात् देखिन्छन् । शब्द
र शब्दावलीको प्रयुक्तिमा गिरीको कौशल लोभलाग्दो छ । यिनले यी व्यङ्ग्यहरूमा
स्वकीय जीवनका यथार्थ अनुभव र अनुभूतिहरूको उपयोग मजाले गरेका छन् । मूलतः यी
व्यङ्ग्यहरूमा लेखकका आफ्नै नजिकका, चिनेजानेका पात्र तथा
आफूले भोगेका घटनाहरूको प्रचूरता छ । पात्रहरूको नाम र
चरित्रका कतिपय सन्दर्भमा तादात्म्य र कतिपय सन्दर्भमा व्यङ्ग्यात्मक विपर्यय
भेटिन्छ । अधिकांश व्यङ्ग्यहरू आकारगत दृष्टिले छोटाछरिता र पढ्दा पट्यार नलाग्ने
आनन्दप्रदायक खालका छन् । यिनमा यौनप्रसङ्गको चर्चा अलि बढी नै गरिएको छ, तर शिष्ट वा
प्रतीकात्मक शैलीमा । लेखक स्वयम् पब्लिक क्याम्पसमा लामो समय प्राध्यापन गरेर
अवकाश लिएका र त्यहाँभित्रका विकृति विसङ्गतिको पर्याप्त जानकारी भएकाले कैयौँ
असन्तुष्टि अभिव्यक्तिसहितका क्याम्पस र क्याम्पस प्रमुखका प्रसङ्ग धेरै
व्यङ्ग्यहरूमा भेटिन्छन् । क्याम्पसका छात्राहरूमा गुरुप्रति हुने विपरीत लिङ्गी
आकर्षणका प्रसङ्गहरू पनि यत्रतत्र भेटिन्छन् जुन लेखक स्वयम्ले भोगेका र अनुभूति गरेका
हुन् । केही व्यङ्ग्यहरूमा सान्दर्भिक रोचक अन्तर्वार्ताहरू पनि समाविष्ट छन् ।
कल्पित नाम, कल्पित स्थाननाम, कल्पित प्रसङ्ग, कल्पित घटना र
कल्पित चरित्रको संयोजन भए पनि यी सबै व्यङ्ग्यहरू यथार्थ धरातलका हुन् । लेखक
धनराज गिरीलाई नजिकबाट चिनेका वा बुझेका पाठकहरूले यी व्यङ्ग्यहरूका रचना गर्भ
सहजै अनुमान गर्न सक्छन् । यसभित्रका हरेक व्यङ्ग्यहरूमा पाखण्डी चरित्रको पौरख
देखिन्छ । अपवादबाहेक मान्छे बाहिर जे हो, भित्र त्यो होइन भन्ने
सार यी व्यङ्ग्यहरूमा रहेको छ । कतिपय व्यङ्ग्यहरूमा प्रयुक्त पात्र प्रोफेसर
जगमोहन आजाद स्वयम् धनराज गिरीको प्रतिलिपि चरित्र हो लेखक स्वयम्ले बनाएको । कुनै
कुनै शीर्षक प्रश्नात्मक छन् । घुमाउरो पाराले धेरै ठाउँमा लेखकको आत्मश्लाघा
मुखरित भएको देखिन्छ । यिनले आफूलाई चारित्रिक सन्दर्भमा जोगाउने कोसिस गरेका छन्, कहीँकतै पनि खस्न
दिएका छैनन् ।
कतिपय
लापर्बाहीगत त्रुटि छन् भने केही अभ्यस्त त्रुटिहरू पनि यसमा भेटिन्छन् । यथा– अरु, आँशु, आँफू, दाई, भाई, भनन, नाऊ, सन्सार, घर्मा, बर्जित, कतिञ्जेल, हाँस्यरस, मिष्ठ, बाठी, घरि, अहँकारी, तत्व, सीधा, चाँहि, चांहि, फुर्ति, वधु, पदच्युत, पढाई(भाववाचक
नाम), माक्स, उदरस्त, शास्ति, प्रचुर, इस्लामावाद, जहिलै, पंक्षी, तथास्तु, एवमस्तु, प्रत्युपादक, सहपाटी, महत्व, प्रज्जवलन, स्रोता, तैयार, भनार्ई (भाववाचक नाम), आर्दश, राशी, अन्तरयामी, शीप, बिच्छेद, सुन, स्वर्णीम, उपलब्धी सञ्चो, संधी, बाँकि, चिन्ह, शिर्ष, गद्गद्, लेलिन, खाली (मात्र
अर्थमा), खाँतिर, रश्मी, मनिषि, गन्गन्, कच्कच्, भएँछु, तलव, बिकट, अन्तरवार्ता, जप्नुहोस्त, उद्गम्, बिबाह, बिस्फोट, विद्धान्, धुन आदि ।
यीबाहेक आगन्तुक तथा तद्भव शब्दहरूको प्रयोग पनि पुरानै नियमलाई पछ्याएर गरिएको छ
। यथा– गरीब, फकीर, खुशी, शहीद, तारीफ, रीस, जमीनदार, तरीका, नतीजा, खीर, नजीकै, खरीद, मजबुत, गञ्ज बुढालगायत
शब्दहरू । कतिपय वाक्यभित्रका शब्दहरूमा विभक्ति तथा नामयोगीहरू नजोडिएका
भेटिन्छन्, यहाँसम्म कि शीर्षकमा नै रहर को कहरलाई
उदाहरणका रूपमा लिन सकिन्छ । मन्त्री कै, दिवस कै, म बाट, समय मा, बकबकोपाध्याय मा, सदाचारी कै, संसार भरिका, आशिकहरू बाट, एक पटक, बाटो मै, ऊ भित्र आदि ।
लेखक स्वयम् नेपाली भाषाको शुद्धतामा होसियार देखिन्छन् तापनि अनपेक्षित रूपमा
यस्ता कमजोरी देखिनु नपर्ने हो । शुद्धीकरणमा कसैलाई जिम्मेवारी दिएका कारण यस्तो
भएको हुनुपर्छ । कतिपय स्थानमा आङ्गल भाषाका शब्दहरूको प्रयोग गर्ने सन्दर्भमा
रोमन लिपिको उपयोग गरिएको छ, यस्ता शब्दलाई देवनागरी लिपिमा नै लेखी कोष्ठमा
रोमन लेख्ता हुन्थ्यो भन्ने लाग्छ । यस अन्तर्गतका व्यङ्ग्यहरू स्वच्छन्दतावाद, यथार्थवाद र
अनग्न प्रकृतवादबाट प्रभावित छन् । यिनमा जोक÷मजाकहरूको प्रयोग अलि बढी
नै छ, हास्यव्यङ्ग्यमा यो स्वाभाविकै पनि हो । कतिपय फरक फरक
व्यङ्ग्यहरूमा केही पात्रहरू पुनरावृत्त भएका छन् । केहीमा विषयवस्तुको कथ्य क्षीण
भए पनि पदावली र वाक्यगत चमत्कारबाट यी व्यङ्ग्यमा प्राण भरिएको छ । वास्तवमा यस
सङ्ग्रहभित्रका व्यङ्ग्यहरूको आधारभूमि व्यापक छ । लेखकले सबैतिरका विकृति, विसङ्गति र विद्रूपताउपर
प्रहार गरेका छन् । जति पढ्यो उति मजा आउने खालका व्यङ्ग्यहरूको यो सङ्ग्रह रोचक छ
साथै विरेचक अर्थात् मनोविकार मोचक पनि छ ।
– २०८३÷०५÷२८
