भवानीप्रसाद पाेखरेल
नेचा, सोलुखुम्बुमा जन्म भै विराटनगरलाई कर्मथलो बनाउँदै शिक्षण पेशामा संलग्न रही साहित्यमा रमाउने साहित्यकार हरि कट्टेलको सातौं कृतिको रूपमा ‘हिउँचुलीमा हिउँ’ बालकवितासङ्ग्रह २०७९ साहित्यको भण्डारमा आएको छ । आज म यसै बालकवितासङ्ग्रहको बारेमा छोटो समीक्षा गर्न गइरहेको छु ।
यस कृतिको प्रकाशक शब्दार्थ प्रकाशन काठमाडौँ रहेको छ । मूल्य रु. दुईसय पच्चिस रहेको कभर बाहेक बत्तिस पेज, कविता संख्या, चित्रात्मक रूपमा तेइस थान रहेको यो कृति बालबालिकाका लागि मार्गदर्शकको रूपमा रहेको देखिन्छ । कृतिमा समाविष्ट बालकविताहरू सन्देशमूलक छन् । कविताहरूमा सरल, सहज र झर्रा शब्दहरूको पर्याप्त प्रयोग छ । बालबोलीको प्रयोग गरी सरल भाषामा लेखिएको हुनाले बालबालिकाले रमाइ रमाइ गाउन सक्ने देखिन्छ । यो कृतिमा मुख्य गरी हिमाली र पहाडी क्षेत्रको सेरोफेरोको प्रकृति आएको छ । बाहिरी आवरण आकर्षक छ । बालबालिकाको लागि सङ्ग्रहयोग्य समेत छ भन्ने मैले ठानेको बालकवि साहित्यकार तथा समीक्षक हरि कट्टेल सहयोगी भावको व्यक्ति, कर्मशील हुनुका साथै विद्यालयमा शिक्षण सेवा, विद्यालय स्रोत व्यक्ति भई शिक्षक साथीहरूलाई पनि मार्गदर्शक गराइ विद्यालय निरीक्षण गर्ने व्रmममा सोलुखुम्बु लगायत धेरै जिल्लाको विद्यालयको कक्षाकोठा अवलोकन गरी बाल मनोविज्ञानको पनि अनुभव बटुलेका स्रष्टा हुन् । उनी जीवनको धेरै कालखण्ड बालबालिकाहरूसँगै र उनीहरूकै सन्दर्भका कुरा गर्दै बिताउने स्रष्टा हुन् । त्यसको प्रभाव पनि यो ‘हिउँचुलीमा हिउँ’ बाल कवितासङ्ग्रहमा बेजोड ढङ्गबाट आएको छ । यो मेरो विचार हो ।
पहिलो बालकविता ‘हिमालको फेदीमा’ अन्तिमको ‘हाम्रो मधेश’ रहेको छ । कविताव्रmम यसरी बगेको छ – हिमालको फेदीमा, मेरो चङ्गा, एउटा गीत लेखिदिन्छु, भेदभाव गर्ने अव गए जमाना, पाले दाजु, सानो सानो नानी, ठुलालाई आदर गर्नु, चरी, सानो बाउ, ठुलो बाउ, पँधेरीको मिठो पानी, पुतली, सानी सानी नानी छ, सिर्जनाको सगरमाथामा चढ्छु, पहाडकी छोरी, ढुकुमुकु ढुकुमुकु, खेल्न आउ, मेरो सानो घर, ठाडे सुरी आएछ, भान्साघरमा, टोलुङ ठेकी, मदानी, बेठी, कागिनी, मोबाइलमा घण्टी बज्यो, भोलि पनि आउ है चरी, नेपाल कति सुन्दर, हिउँचुलीमा हिउँ प¥यो, हाम्रो मधेश, उपरोक्त तेइसवटा सुन्दर, राम्रो शीर्षकमा बालकविताहरू लहलहाएका छन् । यसले बालबालिकाको मनोभावना समेट्न सक्नेछ यसमा । बालबालिकालाई उपदेश छ र यो कृति चोटिलो छ अनि पोटिलो छ । यो बाबुनानीहरूकै लागि लेखिएको राम्रो बाल कवितासङ्ग्रह हो भन्ने मेरो ठम्याइ छ ।
‘हिउँचुलीमा हिउँ’ बाल कवितासङ्ग्रहको विशेषता भनेकै हाम्रा कलिला नानीबाबुहरूलाई राम्रो समाज, समाजभित्रका संस्कार, हाम्रो संस्कृतिसँग साक्षात्कार गराइ नेपालीपन र नेपाली मन भएका असल नागरिक बन्न भविष्यमा टेवा पुग्न सकोस् भन्ने उद्देश्य रहेको देखिन्छ । यसका बारेमा आफ्नो सङ्क्षिप्त मन्तव्य राख्दै स्रष्टाले भनेका छन्, “यो सिर्जनाको सानो आँखीझ्यालबाट बाल संसारलाई चियाउने प्रयत्न गरेको छु ।” हाम्रा कलिला नानीबाबुहरू जो भविष्यका कर्णधार हुन् तिनलाई बेलैमा राम्रो शिक्षादीक्षा दिन सकियो भने उनीहरू समाजमा घुलमिल भै असल नागरिक बन्न टेवा पुग्न सक्तछ । साँच्चै नै बालबालिकाहरूको आजको व्यवहार, ज्ञान, मनोविज्ञान, समय, देश र परिवेश नै यी सिर्जनाहरूका केन्द्रीय भावभूमि हुन् भन्ने मलाई लाग्दछ ।
त्यसैले एउटा असल शिक्षक इमान्दार प्रशिक्षकमा निहित ज्ञान, सिप, चाहना, कला र विचारको भित्री भावबाट पनि यी सिर्जनाहरूमा अन्तर्घुलन भएर बाहिर बालबालिकाका लागि खुराकका रूपमा आएका हुन् । मलाई विश्वास छ म पनि मनोविज्ञानको एक विद्यार्थी भएका नाताले यी सिर्जनाहरूलाई शिक्षक, विद्यार्थी, अभिभावक सबैका लागि पठन योग्य छन्, मनन् योग्य छन् तसर्थ यो सबैले मनपराउनु हुनेछ र विशेषतः नानीबाबुहरूले रमाइ–रमाइ गाएर ज्ञान हासिल गर्नु हुनेछ भन्ने कुरामा म विस्वस्त छु । यसले बालबालिकाको भविष्य निर्माणमा टेवा अवस्य नै पुग्ने छ ।
बालकविताको विजको रूपमा निम्न कुराहरू आएका छन् – हिमालको वर्णन, फेदीमा सानो घर, लालीगुराँस फुलेको, डाँफेचरी नाचेको, मारुनी सँगिनी, चङ्गा, हवाइजहाज, मिलिजुली बस्ने सन्देश छ, गाउँ, सहर, छुवाछुतको अन्त्य, एउटै रगत, सरसफाइ, बिरुवा रोप्ने, नुहाइ धुवाइ, सफा नाना लगाउनु, ठुलालाई आदर, सानालाई प्रेम, पँधेरी, पानीको मुहान सफा राख्ने, चकचक गर्दा लडिन्छ, खानु हुन्न चाउचाउ, ढिडो, रोटी, खाउ, बसाइँ नसरौँ, खानेकुरा जतन गर्नु, ढोकामा साँचो लगाउनु, सियो चलाउँदा घोच्छ, कर्दले काट्दछ, सलाई जतनले राखौं, कागलाई श्रद्धाञ्जली दिएको, बच्चाले मोबाइल नचलाउनु, फेसबुक, इन्टरनेटका कुरा, चौबन्दी, सारी, दोचा, छुर्पी, काफल, तुसारो, सतहत्तर जिल्ला, सात प्रदेशको वर्णन छ । जातजाति, कला, संस्कृति, तालहरू, उपरोक्त शब्दहरू बालकविताका विजका रूपमा रहेका छन् । यो सङ्ग्रह पढेपछि नै सबै कुरा छ्याङ्ग हुन्छ । कविताको शीर्षक माथि चित्र दिएको हुँदा बालबालिका लागि यो लोभलाग्दो छ र बाल मस्तिष्कमा सिर्जना बुझ्न सहज पनि हुनेछ । कविताका शीर्षकहरू सचित्र छन् । यस्तो सुन्दर कृतिका निम्ति कविलाई बधाई दिन्छु । आजको छोटो समीक्षा यही समाप्त गर्दछु ।
जय साहित्य ।