विष फेल
राममणि सिटौला
ईश्वर ः हामीले दिएको जीवन तिमीलाई नष्ट गर्ने अधिकार छैन ।भाङ्ग्रे ः के भन्यौ रे ! मलाई यसो गर्ने अधिकार छैन रे, मेरो जीवन मेरो मर्जी ।ईश्वर ः अहँ, तिमीले यसो गर्न पाउँदैनौ । यसो गरेर तिमी घोर पाप गर्दैछौ ।भाङ्ग्रे ः तिमी पाप र धर्मको त कुरा गर्छौ तर तिमी मानिसलाई किन भोको पेट दिन्छौ, भोकको ज्वाला तिमीलाई के थाहा ? भोकाएपछि मान्छेले पाप–धर्म केही सोच्दैन ।ईश्वर ः हाम्रा निम्ति पृथ्वीका सबै मानिस बराबर, हामी सबैलाई समान रूपमा हेर्छाैँ ।भाङ्ग्रे ः हा ..हा ... सबै बराबर ? त्यसो भए कोहीलाई किन यति धनी बनायौ, कोहीलाई किन यति गरिब बनायौ र असमानताको विशाल खाडल खन्यौ ? तिमी जेसुकै तर्क गर, म एकदिन तिम्रो प्राङ्गणमा रहेको ढुङ्गामा टाउको फुटाएर प्राण त्याग गर्नेछु ।–––यो को हो प्रिया ? पार्कको बेन्चमा बसिरहेको एउटा युवकले युवतीसँग सोध्यो ।लाग्छ, कुनै पागलजस्तो छ जो प्रायः सधैँ मन्दिरमा आउँछ र आफैँ ईश्वर र याचक बनेर आफैँसँग कुरा गरिरहन्छ । भो छाडौँ यस्ता पागलको कुरा ।युवतीले युवकलाई सम्झाई ।मध्याह्नको चर्को घाम, तराईमा हपक्क गर्मी बढेको थियो । ऊ मन्दिरबाट अगाडि बढ्यो र सडकमा बर्बराउँदै हिँड्न थाल्यो, विष फेल ! विष फेल !!मयलको पत्रैपत्र भएको वस्त्र पहिरिएको, जिङ्रिङ्ग कपाल पालेको, तलुवा खिएको चप्पल पहिरिएको ऊ एकतमासको देखिन्थ्यो । उसको वास्तविक नाम के हो कसैलाई थाहा थिएन । उसको हुलिया हेरेर मानिसले उसलाई ‘भाङ्गे’ भनेर सम्बोधन गर्थे । सायद कयौं दिनदेखि ननुहाएको होला, उसका शरीरबाट चर्को दुर्गन्ध आउँथ्यो ।कहिले ऊ सडकमा गुडिरहेको चिल्ला गाडीतर्फ औँला ठड्याउँथ्यो, “तिमीहरू उज्ज्वल र चम्किला वस्त्र पहिरिएका लुटेरा हौ ।” कहिले ऊ बैंक, वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानतर्फ आँैंला ठड्याउँथ्यो, “तिमीहरू वैधानिक डाँका हौ ।”ऊ अग्ला र भव्य महलतिर हेर्दै चिच्याउँथ्यो, “मलाई यो भव्यताप्रति चरम घृणा छ । यी गगनचुम्बी महल देख्दा अत्यास लागेर आउँछ । यसको टुप्पीदेखि पैतालासम्म निर्धा ज्यामी र कुल्लीको रगत लतपतिएको छ । ‘थुः थुः’, ऊ अग्ला महलतिर थुक्न थाल्यो ।एकाएक उसले सडकमा हिँडिरहेका युवतीतर्फ चोर आँैंला ठड्याउँदै खबरदारी गर्न थाल्यो, “सावधान ! सावधान !! सडकमा भुस्याहा कुकुरहरू बढ्न थालेका छन् । भुस्याहा कुकुरमा रेबिज हुनसक्छ । सडकमा ठुल्ठुला टाउके, घनटाउकेहरूका पुल्पुलिएका बाच्छाहरू घुम्न थालेका छन् । तिनीहरूमा कोरलीको गन्धको नशा चढेको छ । तिनीहरूसँग भिरिङ्गी हुनसक्छ । सावधान ! हा... हा... हा... ।”जब ऊ औद्योगिक क्षेत्रनेर आइपुग्यो, तब ऊ जोर जोरले चिच्याउन थाल्यो, “विष फेल ! विष फेल !!”प्रभात पसलमा बसेर जुस पिइरहेको थियो । ऊ यस बस्तीमा नयाँ थियो । उसलाई भाङ्ग्रेबारे जान्ने इच्छा जाग्यो ।“साहुजी ! यो कहाँको मान्छे हो, तपाईंलाई थाहा छ ?”“यो हावा हो, कहिले कहाँ देखिन्छ, कहिले कहाँ”, साहुजी हाँस्न थाल्यो । “आजसम्म यो मान्छेलाई कसैले पनि रोएको देखेको छैन । खालि हाँसिरहन्छ । आफैँसँग कुरा गरिरहन्छ ।”ऊ फेरि चिच्याउन थाल्यो, “विष फेल ! विष फेल !! ”‘विष फेल’ शब्दले एकक्षण प्रभात सोचमग्न भयो । आखिर विष फेल भनेर उसले के भन्न खोजिरहेछ ?उसले कोठामा गएर शब्दकोशको पाना पल्टायो तर कहीँ पनि त्यस शब्दको अर्थ फेला पार्न सकेन । त्यसोभए के ऊ यो शब्द व्यर्थमा फलाकिइरहेछ ? यसको कुनै अर्थ छैन त ? यो सब ऊ पागलपनमा मात्र बर्बराइरहेछ त ? के मनोरोगीले बोल्ने सबै शब्द अमुर्त नै हुन्छ त ? प्रभात घोत्लिन थाल्यो ।झमक्क साँझ पर्दै थियो । चराचुरुङ्गी वेग हानेर आकाशमा उडिरहेका थिए । अस्ताउन लागेको घामको लालिमा राताम्य थियो । प्रभात आफ्नो कोठामा फर्किँदै थियो ।“प्रभात सर !”, कुनै अपरिचित स्वरले प्रभात झस्कियो ।“हँ” ।एकाएक उसले मन्दिरमा बसिरहेको भाङ्ग्रेलाई देख्यो । ऊ भित्रभित्र अत्तालिन थाल्यो, “आखिर भाङ्ग्रेलाई उसको नाम कसरी थाहा भयो जबकि ऊ यस इलाकामा आएको एक महिना हुँदैछ ।” उसको मुटुको ढुकढुकी बढ्न थाल्यो ।‘प्रभात सर !’“तिमीलाई मेरो नाम कसरी थाहा भयो ?” प्रभात थरर काम्न थाल्यो ।“नडराउनुस्, तपाईंले मलाई नचिने पनि म तपाईंलाई चिन्छु”, भाङ्ग्रे मुसुक्क हाँस्यो ।“तर कसरी ! म त तिमीलाई पहिलो चोटि देख्दैछु”, प्रभात झन् झन् अत्तालिन थाल्यो ।“तपाईं लेख, कविता लेख्ने प्रभात हुनुहुन्छ होइन ? मैले तपाईंका रचनाहरू पत्रपत्रिकामा पढेको छु ।”“हो र !”, प्रभात अलि शान्त मुद्रामा आयो । प्रभातले स्वास्थसम्बन्धी पत्रिकामा मानसिक रोगीबारे पढेको थियो – सबै मानसिक रोगीहरू खतरनाक हुँदैनन् । मानसिक रोगीहरू पनि सिर्जनशील हुन्छन् । उनीहरूले पनि आफूप्रति दर्साएको सहानभूति बुझ्न सक्छन् । प्रभात सोच्न थाल्यो, “मान्छे त निकै पढेलेखेको र समझदार जस्तो छ ।” अब प्रभातको उसप्रतिको डर पूर्णतः समाप्त भयो ।“बस्नुस् सर” भाङ्ग्रेले मन्दिरको पेटी देखायो । प्रभात पेटीमा बस्यो ।“मानिस मलाई पागल सोच्छन्, म देख्ने बित्तिकै परपर भाग्छन् तर म त्यस्तो खतरनाक छैन सर”, भाङ्ग्रे गम्भीर मुद्रामा आयो ।“यथार्थ चाहिँ के हो त त्यसो भए ?” प्रभात अलि उत्सुक मुद्रामा आयो ।“यथार्थ भन्नुहुन्छ भने म त पागल भएको नाटक गरिरहेछु ।”“तर किन?” प्रभात आश्चर्यचकित भयो ।“आजको युगमा सबै मानिस सम्झौतापरस्त भए । कालोलाई कालो, सेतोलाई सेतो भन्ने कसैमा हिम्मत भएन । सबैका आँखा, कान बन्द भए । के राजनीतिक दल, के बुद्धिजीवी, के अभियानकर्मी, कवि, लेखक सबैका जिब्रा दौलतका धतुराले लठ्ठिए । त्यसैले आजको युगमा सत्य बोल्ने आँट कसैमा छ भने त्यो पागलमा मात्र छ । अरू सबै दिमागका गुलाम हुन्, पागलहरू मात्र स्वतन्त्र छन् । त्यही भएर म यो पागल भएको नाटक गरिरहेछु”, भाङ्ग्रेको कुरा सुनेर प्रभात केही क्षण गहिरो सोचमा डुब्यो ।“सर ! मलाई सानैदेखि सबैले उपेक्षित नजरले हेर्थे । म झरना, पहाडका उचाइ, चराचुरुङ्गीका उडान, भुइँकुहिरो हेरेर एकोहोरिन्थेँ । मेरा कुराहरूदेखि सबै रुष्ट हुन्थे । म हरेक कुरामा प्रश्न उठाउँथेँ । म जताततै अनफिट थिएँ । म कुनै पनि काममा टिक्दैनथेँ । मलाई गुलामी भनेपछि अप्रिय लाग्थ्यो । म जुन अफिसमा गए पनि हाकिमलाई औंँला ठड्याउँथेँ”, भाङ्ग्रे अतीततिर फर्किन थाल्यो ।“अनि तपाईं औद्योगिक क्षेत्र नजिक आइपुगेपछि विष फेल, विष फेल भनेर चिच्याउनुहुन्छ नि ! यसको अर्थ चाहिँ के हो ?” प्रभातमा उत्सुकता झन् बढ्न थाल्यो ।“यसको छुट्टै कथा छ”, भाङ्ग्रे अतीततर्फ फर्कियो, “म एउटा बेरोजगार थिएँ । रोजगारीका खोजीमा भौंँतारिइरहेको थिएँ । एकदिन एउटा रोजगारादाता कम्पनीको विज्ञापन पढेंँ । खानेबस्ने सुविधासहित सुरक्षागार्डमा राम्रो तलब । मैले त्यो कम्पनीमा निवेदन दिएँ । मलाई गार्डको तालिम दिइयो । उक्त कम्पनीले एउटा औद्योगिक क्षेत्रको कम्पनीमा सुरक्षागार्डमा नियुक्त ग¥यो तर त्यहाँ खान दिइँदो रहेनछ, आफैँले पकाएर खानुपर्दो रहेछ । बस्न त दिइँदो रहेछ तर त्यस्तो ठाउँमा बस्न दिइँदो रहेछ जहाँ जनावर पनि बस्न हिच्किचाउँछन् । बस्ने ठाउँ सुँगुरको खोरभन्दा पनि गए गुज्रेको रहेछ । सुत्नलाई काठको फल्याक दिइन्थ्यो जसको मुनि उडुस, उपियाँले गुँड लगाएका थिए । रातभरि लामखुट्टे, उडुस, उपियाँले टोकेर आरामले निदाउन त सकिँदैनथ्यो । त्यहाँ चारैतिर प्रहरीको सुरक्षा हुन्थ्यो । रासन किन्न जाँदा पनि नाम लेखाएर जानुपथ्र्याे । त्यहाँका मालिकहरूले कडा नियम बनाएका रहेछ्न् । राति डिउटीमा झकायो भने पनि त्यस रातको हाजिर काटिन्थ्यो । एकदिन म डिउटीमा झकाएँ । मेरो त्यो रातको हाजिरी काटियो । हाजिर काटिएपछि के डिउटी गर्नु भनी कोठामा आएर सुतेको थिएँ, तब त्यहाँको प्रशासनबाट आदेश आयो कि उसलाई तीन दिन डिउटी पनि नदिनु र गेटबाट बाहिर पनि जान नदिनु”, भाङ्ग्रे बेलिबिस्तार लगाउन थाल्यो, “बाफ रे बाहिर पनि जान नपाउनु, यो त जेलमा बसेको भन्दा पनि खतरा भइहाल्यो नि ! म मानसिक रूपमा विक्षिप्त भएँ र रोजगारदाता कम्पनीमा फोन गरेंँ । सिधै राजनीमा दिएर बाहिर आएँ । मालिकहरूले, ठेकेदारहरूले जति गुलिया र चिप्ला कुरा गरेर मजदुरहरूलाई फसाउँछन् त्यसले कालकुट विषलाई पनि फेल खुवाउँदो रहेछ । मालिकका मिठासका सामु विषसमेत फेल खाँदो रहेछ ।”भाङ्ग्रेको कथा सुनेर प्रभात हतप्रभ भयो । गम्भीर मुद्रामा आयो । भाङ्ग्रे पुनः चिच्याउँदै हिँड्न थाल्यो, ‘विष फेल ! विष फेल !! हा... हा... ।’