मेरा यामहरूमा समालोचक ठाकुर पराजुली
काजी रोशन
म २०२५ तिरै वासु पासाको संगतमा परँे र उनका फिलिङ्गो, कुम्लो कविताका कृति पढ्न लागेँ । जहाँ पङ्क्ति पङ्क्तिमा क्रान्ति, विद्रोह र जनपक्षीय भावनाले ओतप्रोत हुन्थे । अग्ला मोटा दशरथ चन्द जस्तै कुस्तीवाज बान्कीका थिए उनी ।
२०२५ सालमै मैले सिद्धिचरण, पारिजात, माधव घिमिरे, भूपि शेरचन, नरसिंहभक्त तुलाचन, बालकृष्ण सम, गोविन्द भट्ट, आनन्ददेव भट्ट, ज्योत्स्ना भट्ट मोहनबहादृुर मल्ल, धर्मराज थापा र २०२६ तिर माधवप्रसाद देवकोटा, कुलमणि देवकोटा, कविन्द्रमान सिंह र पछि क्रमशः भवानी भिक्षु, हरिभक्त कटुवाल लगायतलाई भेटँे ।
बलमुकुन्ददेव पाण्डे, उत्तम कुँवरले त म कहाँ रुपरेखा पठाउने गर्नुहुन्थ्यो । त्यसको म धौलागिरि अञ्चल प्रतिनधि थिएँ । त्यस्तै मदनदेव भट्टराईको प्रधान सम्पादकत्वमा प्रकाशित हुने‘ रत्नश्रीको पनि म अञ्चल प्रतिनिधि थिएँ ।
रुपरेखामा पुस्तक समीक्षाको जिम्मा ठाकुर पराजुलीको थियो । पुस्तकको नाम प्रकाशित वर्ष, मूल्य, विधा आदि खोली प्राप्ति स्वीकार र समालोचकीय लेखहरू उहाँको आइरहन्थे ।
प्रथम पटक सायद ठाकुर पराजुलीलाई मैले रुपरेखाबाट चिनेँ कि ! ठाकुर पराजुली र मबिच दाजुभाइबिचको सम्बन्ध थियो । नम्र विनयी स्वभावका उहाँ मसिनो बोल्ने र शान्त स्वभावको हुनुहुन्थ्यो । बागलुङमा म उहाँको सम्पर्क व्यक्तिको रुपमा थिएँ । उहाँका ओजूर्ण, विद्वतापूर्ण कुराहरूले म झङ्कृत बन्थेँ । मेरा नसा नसामा साहित्यको रस संचारित हुन्थें ।
एउटा कुरा अनौठो के लाग्छ भने वि.सं. १९९७ भाद्र २० गते म्याग्दीको पातलेखेत जन्मेका र गाउँघरमै शिक्षा ग्रहण गरेका ठाकुर पराजुली कसरी काठमाडाँै पुगे र शैक्षिक माहोलमा चुर्लुम्म भए ? बाटोघाटोको राम्रो सुविधा नभएको त्यस बेलाको अवस्थामा शिक्षा आर्जन गर्न काठमाडौँ पुग्ने उहाँका पिता अभिभावकहरूले काठमाडाँै पु¥याउनु यो एउटा ठुलो शैक्षिक जागरण नै थियो । गाउँघर जहाँ पठन पाठनको त्यति राम्रो सुरुवातै भएको थिएन । बाल्कालदेखि नै परिवारका सदस्यहरू मेलापात खेतीपाती, गाईभैंसीको स्याहार सुसारमै अधिकांश समय व्यतित हुन्थ्यो, शिक्षा आर्जन एकादेशको कथाजस्तै थियो । तत्कालीन शैक्षिक र विकासको अन्धकारमा रुमलिएको ग्रामीण भेक म्याग्दीबाट ठाकुर पराजुली काठमाडौँ नपुगेको भए उहाँको अस्तित्व कस्तो हुन्थ्यो यो गर्भको विषय थियो । तत्कालीन अवस्थामा शिक्षा आर्जनकै लागि काठमाडौँ पुग्नु, बस्नु र पढ्नु यो ठाकुर पराजुलीको लागि स्वर्ण अवस्था थियो । जहाँ पुगेर उनको जीवन नै शैक्षिक, सांस्कृतिक र साहित्यिकमय बन्न पुग्यो । यो ठाकुर पराजलीको आफ्नै मेहनत, परिश्रम, लगनको कारणले भएको थियो । किन कि ठाकुर पराजुलीकालीन समयमा काठमाडौँ गएर शिक्षण ग्रहण गर्ने क्रमको त्यत्ति सुरुवात भएकै थिएन । त्यो औकात र क्षमता परिवारको सोचभन्दा बाहिरको थियो । गाउँका ठिटाहरू पल्टनमा भर्ना हुन भारत पुग्थे । त्यसबेला ठिटाहरूलाई पल्टनमा भर्ती गर्ने गल्लाहरू नै गाउँ गाउँमा पुग्थे र ठिटाहरूलाई छानी छानी भैरहवाको पकलिहवामा पु¥याउँथे । या पढ्न वनारस पठाउँथे । धन्य ठाकुर पराजुली यसबाट जोगिए र पठन पाठनको लागि काठमाडौँ जाने संस्कारको विकास गरे । गाउँबाट गएको एउटा ठिटो काठमाडौँमै बसेर कसरी पढे, लेखे र एम. ए. (नेपाली) र आचार्यको डिग्री हासिल गर्न सफल भए ? यो उनले म्याग्दीको ग्रामीण भेकमा गरेको शैक्षिक क्रान्तिकै प्रारम्भ भन्नमा अत्युत्ति नहोला ।
मेरो कृति प्रकाशनको भूमिका लेख्ने सुरु विन्दुमै उहाँ हो र उहाँको विचार, भावना, लेखनीकै कारण म प्रकाशनवान भएको हुँ । हाम्रो धवलागिरि क्षेत्रकै सम्पर्क विद्वान उहाँ हुनुहुन्थ्यो । उहाँ नै मेरो भरोसाको केन्द्रविन्दु हुनुहुन्थ्यो । उहाँले मलाई कुखुराले आफ्नो चल्लालाई माउले प्वाँखभित्र सुरक्षित राखे जस्तो उहाँले मेरो साहित्यिक सम्पदा, सिर्जनात्मक सोच विचार र कल्पनाको संरक्षण गर्नुभयो । मलाई राम्रा राम्रा खदिला, वौद्धिक विचारले उत्प्रेरित बनाउनुभयो ।
२०३३÷३४ सालताक म जुम्लाबाट काठमाडौँ सरुवा भै आएपछि उहाँलाई मेरो दुई पाण्डुलिपि कृति एउटा “मानसरोवरमा डुवुल्की मार्दा” (संस्कृति निबन्धपरक) र अर्को “हिमश्रृंखलाबाट”–कविता यात्रा) उहाँको हात राखी दिएको थिएँ । “मान सरोवर डुवुल्की मार्दा” पाण्डुलिपि हेरेर उहाँले मलाई साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधानसँग प्रकाशनको लागि कुरा गर्न सल्लाह दिनुभयो । उहाँले यी कृति साझा प्रकाशनले निकाल्न सक्छ भनेर बाटो देखाउनुभयो । म कृष्णचन्द्रसिंह प्रधानको निवास न्हेकतला, काठमाडौँमा गई उहाँलाई भेटेँ र पाण्डुलिपि कृति साझाबाट प्रकाशित गर्न ठाकुर दाइले पठाउनुभएको जानकारी गराएँ । उहाँले हुन्छ म बोर्डमा राख्छु भन्नुभयो । पछि त्यो कृति साझा प्रकाशबाटै प्रकाशनमा आयो ।
२०३५ सालमा जुम्लाबाट तिब्बत मानसरोवरसम्मको कविता कृति पाण्डुलिपिमै उहाँलाई पठाएको थिएँ । उहाँले त्यो कृतिको नाम “जुम्ला, हुम्ला” राख्न भन्नुभएको थियो । पछि रुपायन प्रेसमा बालमुकुण्ददेव पाण्डेले हिमश्रृंखलाबाट’ नामाकरण गर्नुभयो । २०३५ सालमै हिमश्रृङ्खलाबाट–(कविता यात्रा) मा ठाकुर पराजुली
अनौपचारिक उद्गारमा लेखाइको प्रारम्भ यसरी गरेका छन् ।“कवि रोशनलाई सर्वप्रथम मैले निबन्धकार रोशनका रुपमा चिनेको थिएँ । वीरशाली पन्तका बारेमा उनको एउटा निबन्ध रत्नश्री’मा छापिएको थियो । हुन सक्छ– यसभन्दा अगाडि पनि उनका लेख छापिएका हुँदा हुन् तर मेरो पहिलो दृष्टि उनको त्यही लेखमा परेको थियो । यसपछि पनि कहिले भाषाका सम्बन्धमा र कहिले स्थानीय लोकसंस्कृतिका सम्बन्धमा लेखिएका लेखहरू फाटफुट रुपमा देखिन्थे । यसरी एउटा निबन्ध–लेखकका रुपमा रोशनको काल्पनिक चित्र मेरो मानसभित्र हुर्कदै थियो । त्यस बेलासम्म उनको कवि रुप देख्न पाएको थिइनँ । न त मेरो आपसी
परिचय नै भएको थियो । हुन सक्छ– त्यसपछि औपचारिक भेटघाट र चिनापर्ची पनि भए होलान् तर मेरो मानसपटलमा अनौपचारिक रुपमा हुर्काउँदै आएको रोशन नै बढी टट्कारो र बढी गाढा हुँदै गएको थियो । यसैबिच उनी आफ्नो जागिरको सिलसिलामा जुम्ला पुगेछन् । त्यहाँ उनको माध्यमबाट स्थानीय एउटा पत्रिकाका लागि मसँग एउटा साहित्यिक लेख मागिएको थियो त्यही स्रोतबाट उनी त्यहाँ पुगेको थाहा पाएको थिएँ ।”
नेपाली साहित्यकार सम्पर्क समिति बागलुङबाट प्रकाशित “बुकी” पहिलो गुच्छा–२०२५ मा हाम्रा दुई कथाकार केही प्रवृत्तिहरू समालोचकीय लेख रहेको छ । जुन लेखमा उनले शिवकुमार प्रधान र गोविन्दलाल श्रेष्ठको कथाकारिताका सम्बन्धमा विस्तृत व्याख्या र विश्लेषण गरेका छन् ।
शिवकुमार प्रधानको भाषा शैलीको सम्बन्धमा उनको टिप्पणी यस्तो रहेको पाइन्छ– “भाषा र शैलीलाई कलात्मक उच्चता दिन खोजे पनि शिवकुमार आफ्नो बाटोमा अलमलिएका छन् । यस्तो भान हुन्छ शिवकुमारले भाषालाई होइन भाषाले शिवकुमारलाई नचाएको छ । गोविन्दलाल श्रेष्ठ यसबाट मुक्त छन् । यद्यपि उनको भाषा र शैलीले कलात्मक गरिमालाई वहन गरेको छैन ।” यसले ठाकुर पराजुलीले दुई कथाकारको समग्र अध्ययन गरी आफ्नो समालोचकीय भनाइ प्रस्तुत गरेका छन् । उनले शीर्षकमा हाम्रा कथाकार भनेर लेखे पनि लेखमा समालोचकीय विश्लेषण र सिद्धान्तमा अडिग रहेको पाइन्छ ।
“बुकी” अंक २–२०२६ मा ठाकुर पराजुलीको “मोहनबहादुर मल्लका उपन्यासहरूका संक्षिप्त विवेचना” रहेको छ । ठाकुर पराजुलीको जन्म वि.सं. १९९७ भदौ २० गते भएको थियो । उहाँका माता पिताको नाम भद्रकला पराजुली, रघुनाथ पराजुली हो । शिक्षामा एम ए नेपाली आचार्य गर्नुभएको उहाँको नेपाली साहित्यको परिक्रमा (समालोचनासङ्ग्रह–२०४४), नेपाली साहित्य श्रृङखला (भाग १ र २) सह–लेखन २०५२, गोरखा दक्षिण बाहु चौथोबाट विभूषित सम्पादनमा उहाँको मैना –देवकोटाको काव्यसङ्ग्रह–२०३९), सौन्दर्य (झपट बहादुरको कथासङ्ग्रह २०३९ (वाङ्मय अर्ध वार्षिक), हिमाली साहित्य–पाठ्य संयुक्त सम्पादन) सिंहवाद–त्रैमासिक विद्यार्थी सन्देश, ज्योति आदि पत्रिका रहेका छन् ।
समयको क्रमसँगै म संस्थागत रुपबाट प्रतिबद्धताका साथ अघि बढेँ । आफ्नै निजी रकम, आफ्नो तलवको रकम, आफूले पाएको पुरस्कारका सम्पूर्ण नगद रकम साहित्यमा अर्पण गर्दै गएँ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङलाई समृद्ध गर्न लागेँ । धेरै प्रतिष्ठित साहित्यकारहरूलाई निमन्त्रणा गरी पुरस्कृत गर्न लागेँ । अरु धेरै संस्थाहरू जन्माउन पहल गरी समालोचक ठाकुर पराजुलीलाई समेत बागलुङमा आमन्त्रण गरी पुरस्कार दिन लाग्यांै । ठाकुर पराजुली बागलुङ आउनु हामीले दिएको उपहार ग्रहण गर्नु यो उनको महानता हो । यसबाट हामी कृतकृत भयांै । हामीमा थप उत्साह, जाँगर, हौसलाको प्रवाह भयो । ठाकुर दाइबाट पाएको प्रेरणाले नै म युवा, वयस्क र ज्येष्ठ समेत भएँ । बागलुङमै विभिन्न सिर्जनात्मक पुरस्कारका स्थापनाका साथै भोजपुरमा भोजपुर प्रतिभा पुरस्कार, ओखलढुंगामा ओखलढुंगा साहित्य प्रतिष्ठान, बुटवलमा समाजसेवी गणेशमान कृष्ण प्यारी सैजु स्मृति प्रतिष्ठान र गणेशमान सैजु संग्रहालय, भैरहवामा कवि वासुदेवप्रसाद त्रिपाठी स्मृति समिति, कपिलवस्तुमा सिर्जनशील नारी साहित्य समाज, बुटवलमै नारी साहित्य सिर्जना मञ्च, धनकुटामा टिकाप्रसाद लामिछाने संग्रहालय, पर्वत मल्लाजमा मोहनबहादुर मल्ल स्मृति समिति स्थापना र प्रतिमा निर्माण आदि विभिन्न कामका साथै काठमाडौँमा १५ वटा संस्थाहरूको साझा संस्था–साहित्यिक संस्था समन्वय समिति नेपाल गठनका साथै अध्यक्षता समेत गर्दैछु । मलाई उत्प्रेरित गर्ने ठाकुर पराजुलीसँग फोनमा कुरा गरी काजी रोशनका कविताहरूको सम्पादक भै प्रकाशन गर्न मेरा कविताका ठेली उहाँलाई पठाएको थिएँ । उहाँ त्रिभुवन विश्व विद्यालयमा अध्ययन अध्यापनमा व्यस्त हुनुहुन्थ्यो । केही समयपछि मैले आफ्नो पाण्डुलिपिसम्बन्धी कुरा उठाउँदा ठाकुर पराजुलीले भाइ काठमाडौँमा डेरा बिरालाले बच्चा सारेझैँ सार्ने क्रममा त्यो पाण्डुलिपि कुन चाङमा प¥यो भेटिएन भन्नुभयो र त्यसको प्रकाशनको अध्याय त्यत्तिकै टुङ्गिन पुग्यो । उहाँ सूर्यनारायण पुरस्कार संस्था, म्याग्दीबाट पनि पुरस्कृत हुनुभएको थियो ।
मिति २०६५ जेष्ठ २८ मा ठाकुर पराजुली र डा. माधवप्रसाद पोखरेल बागलुङमा आउनुभएको थियो । मैले उहाँहरूलाई बागलुङ बजार अवलोकन र धवलागिरि साहित्य प्रतिष्ठानको निरीक्षण गराउने अवसर मिल्यो । सो बेला ठाकुर पराजुलीले धवलागिरि साहित्य प्रतिष्ठानको मन्तव्य रजिष्टारमा निम्न लेख्नुभएको थियो–
उहाँको स्वर्गारोहण २०७९ फागुन २० गते काठमाडौँमा भएको खबरले म लगायत धौलागिरिवासी एवम् साहित्य जगत्मा गहिरो चोट पुग्न गएको छ ।
सहायक सामाग्री
– साहित्यकार–कलाकार कोष, नेपाल प्रज्ञा प्रतिष्ठान ।
– धवलागिरि साहित्य प्रतिष्ठान
– काजी रोशन, हिमश्रृंखलाबाट (कवितायात्रा–२०३५)
– ९८४७६२१३०९
बागलुङ