कृतिसमीक्षा
त्यागीको स्फुरणका भावकणहरू
विकल त्यागी वर्तमान समयका उदयमान कवि हुन् । उनी कवि, गीतकार हुँदै हाल
‘स्फुरणका भावकणहरू’बाट गजलकारका रुपमा नेपाली साहित्यमा देखापेरका छन् । कविता, गीत, गजल हुँदै त्यागी
कथा पनि लेखिरहेका छन् । कथा र कविताको वनबाट सुटुक्क निस्किएर उनी हाल गजलको भावमा
रमाउँदै ‘स्फुरणका भावकणहरू’ गजलसङ्ग्रह प्रकाशित गरेका छन् । यस अघि
उनका ‘साँघुरो सुर्को’ (कवितासङ्ग्रह–२०७८), ‘आमआलाप (गीतसङ्ग्रह–२०७९) पुस्तकाकार कृति नेपाली साहित्यमा आइसकेका छन् । यस सङ्ग्रहमा
मुरद्दफ एवम् गैरमुरद्दफ गरी चौरानब्बे वटा गजलहरू प्रकाशित छन् ।
गजल मूलतः टेक्निकल विधा भएकाले संरचनात्मक ज्ञनाविना विशुद्ध
गजल लेख्न कठिन हुन्छ । एक जमान जुन बेला
गजलको कथ्य नै प्रणय र श्रृङ्गारिक भावबाट गजलको सिर्जना हुन्थ्यो । तर आज गजलको आयातन
व्यापक र विस्तृत रुपमा अभिव्यक्त भइरहेको छ । प्रणय र श्रृङ्गार हुँदै सामाजिक विसङ्गति, राजनैतिक विद्रुपता, रोमाञ्चकता, गरिवीको पीडा आदि
विषयबस्तुहरू आजका गजलका कथ्य बनेका छन् । हो त्यागीका यी गजलहरूमा दृष्टिपात गर्दा
समकालीन जीवनमा देखिएका बिक्रिति, बिसङ्गति, मायाप्रेम लगायत मानवीय भवनाका स्मरण हुन् भन्ने लाग्दछ । कुनै
जमानामा स्त्री वा प्रेमिकासँगको कुराकानीका रुपमा परिभाषित गरिएको गजल आजको युगमा
सौन्दर्य, प्रेम वासना, मानवीय पीडा, सामाजिक बिक्रिति
विसङ्गति, राजनैतिक बिसङ्गति, राष्ट्र प्रेम, माटोको माया जस्ता
विषयहरू आइरहेका छन् । बच्चादेखि युवा वय अवस्थामा आफूले अनुभूत गरेका जीवनका तरङ्गहरू
मनमा सधैँ आई रहन्छन् । अझ आफू जन्मेर हिँडेको माटो र बाटो हरक्षण मानसपटलमा स्मरण
भइरहन्छ । गजलकार त्यागीले आफू जन्मेको स्थान दुवेकोल्डाँडा वरिपरिको प्राकृतिक सुन्दरता
र त्यहाँका मानिसका जीवन यात्रा गजलका शेरहरूमा सूक्ष्म रुपले अभिव्यक्त गरेका छन्
। यी गजलमा माया, प्रेम, सम्बन्ध र सामाजिक भातृत्वका विषय आएका धेरै नै छन् । उनका गजलमा
खोला, नाला, मेलापर्व लगायत सामाजिक
जीवनमा घटेका यावत घटनाहरू शेर मार्फत प्रस्फुटित भएका छन् । त्यति मात्र नभएर वर्तमान
समयमा रहेको सामाजिक, राजनैतिक विसङ्गति, अभाव, गरिबीका चित्रहरूसमेत शेर मार्फत उनिएका छन् । हो वर्तमान समयमा
जति पाप कुकर्म गर्छ उत्ति नै फलिफाप भएको महसुस मान्छे गरिरहेको हुन्छ । अझ भन्ने
हो भने हरेक क्षेत्रमा छलछाम, तिकडम, खुरापत गर्न मानिस पछि पर्दैन । जसले खुरापात, पापकर्म गर्छ उसलाई
फलिफाप हुने र जसले धर्म, पुण्य र राम्रो काम गर्छ उसलाई अभिशाप हुने समय हो भन्दै गजलकार
त्यागी शेर मार्फत व्यङ्ग्य प्रहार गरेका छन् ।
श्रमिकको पसिना बालुवामा पानी हालेजस्तै छ र त श्रमको मूल्य
कहाँ पाइन्छ । गजलमा वीरताका गाथा प्रसस्तै भए पनि भ्रष्टाचारको दलदलमा फसेको
राज्यप्रणालीका बारेमा गजलसङ्ग्रहभित्रका शेरले उछितो काडेको भेटिन्छ ।
उनी ग्रामीण सामाजिक जीवनका आयामहरूलाई प्रेमिल रुपमा अभिव्यक्त
गर्दै आफ्नो मौलिकतासमेत गजलमा स्फुरण गरेका छन् । त्यति मात्र नभएर त्यागीका गजलमा
मायाप्रेमको समिश्रण, राष्ट्रियता र स्वाभिमानको आत्माबोध, बिक्रिति विसङ्गतिको
पर्दाफाँस गरी मानवीय चेतनाहरू शेर मार्फत पोखिएका छन् । जिउमा राष्ट्रिय पोशाक भिरेर
बाहिर बाहिर राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र पराइसँग साँठगाँठ गर्ने देशका
राजनीतिज्ञका भनाइ र गडराइमा रहेको फरकपनलाई समेत शेर मार्फत प्रहार गरेका छन् ।
यी नै विषयबस्तु मार्फत समाजमा रहेका बिसङ्गतिपूर्ण घटनाहरूलाई‘स्फुरणका भावकणहरू’ मार्फत गजलकार त्यागीले आफ्नो भावना र समाजको तस्वीर उतारेका छन् । केही शेरहरूमा जवरजस्त काफिया प्रयोगले भावमा असर परेको हो कि जस्तो लागे पनि समग्र गजलहरू सुन्दर र पठनयोग्य छन् । यसैगरी गजल लेखनमा निरन्तरता दिनसके त्यागीको गजलप्रतिको त्याग नेपाली साहित्यमा रहिरहने छ ।
कृति : स्फुरणका भावकणहरू
(गजलसङ्ग्रह)
गजलकार : विकल त्यागी
संस्करण : २०८१
मूल्य : २५०/–
पृष्ठ : ८ + ९५