लघुकथा
आस्था
“ओहो ! घोर अनर्थ भयो !!”
“मान्छेभित्र धर्म मरेपछि कसको के लाग्छ ?”
“भगवान्को यस्तो अनादर ! यस्ता अधर्मीले त नर्कमा पनि ठाउँ पाउन्नन्
।”
मन्दिर छिर्दै गर्दा, फर्किरहेकाहरूबाट
यस्तै–यस्तै कुरा सुनेको उसले, नजिकैको मानिससँग
जिज्ञासा राख्यो “हैन, भित्र के भएको रहेछ ?”
“भिडका कारण देख्न त पाइएन, तर भगवान्को
मूर्तिमा एकजनाले खुट्टाले फूल चढायो भनेर पुजारी लगायतले उसलाई पिट्दै छन् रे ।”
“अहो । यो त साह्रै नराम्रो पो भएछ ।” यति भन्दै ऊ भिड छिचोल्दै
मूर्तिको छेउमा पुग्यो । वरपर हातमा लठ्ठी लिएका लठैत पुजारीगण देखिन्थे । त्यही
अगाडि एउटा युवक रक्ताम्य अवस्थामा लडिरहेको थियो ।
उसले अझै नजिकै पुगेर राम्ररी नियालेर हे¥यो, उसको दुवै आँखा विस्फारित
भए । लडिरहेको रक्ताम्य सो युवक उसको परिचित र जन्मजात नै दुवै हातविहीन् व्यक्ति
थिए ।
– उमामहेश्वर मार्ग, कुमारीगाल