पार्वती भट्ट
पाँच मुक्तक
१.
उमङ्ग हराउँछ आखिर, सारा उल्लास हराउँछ
गुमाएपछि सबथोक, पुनः पाउने आस हराउँछ
थपिँदै जान्छन् पन्छाउँदै जाँदा समस्याका चाङ
सायद ! यसरी नै जिन्दगीको मधुमास हराउँछ ।
२.
सबथोक पुग्यो, बस् ! एक अन्तिम इच्छा बाँकी छ
अझ पनि दिनुपर्ने, पटक पटकको, परीक्षा बाँकी छ
अहँ ! गर्नै सकिएन लेखाजोखा यी उतार चढाबहरूको
समालोचना बाँकी छ जिन्दगीको, समीक्षा बाँकी छ ।
३.
सुखसित पनि दुःखसित पनि, अभ्यस्त कसरी हुनु
आँधी, हुरी र बतासजस्तै, अस्तव्यस्त कसरी हुनु
प्रेमको पनि त हुन्छ सीमा बुझ्नु, प्रिय ! तिमी स्वयम्
कठघरामा उभिनु कसरी र अभिशप्त कसरी हुनु ?
४.
.
थाहा छैन, कारागारमा छु कि म थानामा छु
सायद ! तपतप जिन्दगी चुहिने छानामा छु
थोपाथोपा आँसुसँग खुसी साट्नकै लागि म
बेरोजगारहरू उत्पादन गर्ने, कारखानामा छु ।
५.
भेटिने र छुट्टिनेमा तिमी अलि भिन्न हुनु
मुटुभित्र प्रीति फुल्ने, नखुइलिने चिन्न हुनु
एक्लै हुँदा खुब सम्झिनु, टोलाउनु यादहरूमा
बरु ! रुनु आफैं सम्हालिनु, भन्दिन म खिन्न हुनु ।
- डडेल्धुरा